पशुपतिमा अब सुरुङ मार्ग

NepalOm ५ वर्ष अघि
  • विश्व सम्पदा सूचीमा सूचीकृत प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पशुपति क्षेत्रमा सुरुङ मार्ग निर्माण हुने भएको छ। पशुपति क्षेत्र विकास कोषले तिलगंगा–ताम्रागंगा सडक बन्द गराएपछि सरकारले विकल्पमा सुरुङमार्ग निर्माण गर्ने योजना अगाडि सारेको हो।

    १३ वर्षअघिबाट सञ्चालनमा आएको सडक विकल्पबिना नै बन्द गराएको भन्दै जनप्रतिनिधिहरूले कोषसँग असन्तुष्टि राख्दै आएका छन्। तर कोषले भने विश्व सम्पदा सूचीमा कायमै राख्नका लागि सडक बन्द गराउने निर्णय लिएको बताएको छ।

    युनेस्कोले पशुपतिलाई दुई भागमा विभाजित गर्ने गरी श्लेष्मान्तक वनमा निर्माण गरिएको सडक बन्द नगराएको भन्दै पशुपतिलाई नै विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी दिएको थियो। युनेस्कोको चेतावनीपछि कोषले तीलगंगा–ताम्रागंगा दुवैतर्फ अग्लो पर्खाल लगाएको छ।

    जसका कारण साँखु, जोरपाटी गोठाटारका वासिन्दाले विकल्पका रूपमा प्रयोग गर्दै आएको सडक पूर्णरूपमा बन्द भएको छ भने वागमती करिडोरसमेत प्रयोगविहीन बन्न पुगेको छ। पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रको संरक्षण र संवद्र्धन उद्देश्यले सडकको दुवैतर्फ पर्खाल लगाउने काम गरेको बताएको छ।

    सडक बन्दा हुँदा कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र शखंरापुर नगरपालिकाको साथै सिन्धुपाल्चोक जिल्लामा जाने आउने यात्रुलाई समेत असर परेको छ। उक्त यस सडक हुँदै दैनिक ५ सयभन्दा बढी खानेपानीका ट्याङ्करसहित हजारौं सावारीसाधन सञ्चालन हुँदै आएको थियो।

    केही साताअघि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभा सांसद कृष्ण राई, कागेश्वरी मनहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापालगायतको टोलीले हवाई विभाग र कोषको सीमानाबाट वैकल्पिक सडक सञ्चालन गर्ने विषयमा गृहकार्य अगाडि बढाएको थियो।

    विकल्पमा अर्को सडक सञ्चालन ल्याएर मात्र हाल सञ्चालन भइरहेको सडक बन्द गर्नुपर्ने माग जनप्रतिनिधिले अगाडि सारेका छन्। पशुपतिको बन्द सडक सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीको समन्वयमा बस्ने आगामी बैठकले तय गर्ने भएको छ।

    काठमाडौं ३ नम्बर क्षेत्रका प्रतिनिधिसभा सांसद कृष्ण राईले पशुपतिलाई विश्वसम्पाद सूचीमा कायमै राख्नुपर्ने पक्षमाा आफूहरू रहेको बताउँदै विकल्पका रूपमा सुरुङमार्ग निर्माण गर्नुपर्ने पक्षमा पहल गरिरहेको बताउनुभयो।

    उहाँले भन्नुभयो– ‘हामी सम्पदाको विरोधी होइनांै, जनताको हितविपरीत सडकको दुवैतर्फ पर्खाल लगाउने काम भएको छ, युनेस्कोको भनाइलाई आत्मसात् गर्दै अब सुरुङ निर्माण गर्नुपर्छ।’ उक्त सडक बन्द हुँदा चाबहिल र कोटेश्वरमा ट्राफिक जामसमेत बढेको छ।

    सांसद राईले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा अर्थमन्त्री डा. युवराज खतिवडासँग भएको छलफलमा यस वर्ष विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउनका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो।

    १२ वर्षअघि सडक विभागले तिलगंगा–ताम्रागंगा खण्डमा सडक निर्माण गर्न नहुने निष्कर्षसहित ५ सय ५० मिटर लामो सुरुङ मार्ग निर्माण गर्नका लागि १७ करोड ६५ लाखमा ठेक्कासमेत लगाएको थियो। सुरुङ मार्ग निर्माण गर्नका लागि ठेक्का लगाएको १२ वर्ष हुँदासमेत अझै सरकारले तोडेको छैन।

    पाँच ठाउँमा सय–सय मिटरको दूरीमा उज्यालो राख्ने गरी डिजाइन गरिएको थियो। निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीले १ करोड पेस्की पनि लगेपछि विवादका कारण काम शुरू हुन सकेको थिएन।

    सुरुङ मार्ग निर्माण गर्नका लागि नेता माधवकुमार नेपाल, सांसद कृष्ण राई, सरिता न्यौपाने, तीन नम्बर प्रदेशसभा सांसद मणिराम फुँयाल, कागेश्वरी मनहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले पहल अगाडि बढाउनुभएको छ।