तपोवनको नविन अभियान ‘राष्ट्रका लागि तपोवन’ प्रारम्भ

NepalOm ३ वर्ष अघि
  • nepalom.com

    काठमाडौं । ओशो तपोवनले राष्ट्रका लागि तपोवन नामक एक अभियान प्रारम्भ गरेको छ । व्यक्तिले आफ्नो दैनिक जीवनमा गर्ने हरेक काममा अध्यात्मलाई जोड्दा सो व्यक्ति स्वयममा रुपान्तरण भई उसको जीवनशैली, व्यवसायिक जीवनमा उत्पादनशीलता र प्रभावकारिता बढेर समाज र राष्ट्रमा नै एक सकारात्मक सन्देश प्रवाह हुनसक्छ भन्ने उद्देश्य लिएर यो अभियान थालनी गरिएको हो ।
    प्रकृतिको अनुपम सौन्दर्यको बीचमा अवस्थित ओशो तपोवन मै आयोजना गरिएको यो अभियान २६ घण्टाको एक प्रयोगात्मक, व्यवहारिक र आध्यात्मिक कार्यव्रmम हो । विभिन्न सेसनहरुमा विभक्त गरी संचालन गरिएको सो कार्यक्रममा सहभागीहरुलाई ध्यानका विविध विधिको साथमा सकारात्मक सोचको विकास एवम् नकारात्मक सोचको जडमूल पत्ता लगाई त्यसलाई निर्मूल पार्ने व्यवहारिक अभ्यासहरु गराइएको थियो । साथै, सहभागीहरुलाई अनावश्यक गम्भिरताबाट मुक्त भई हाँसो, खुसी र आनन्दित भई सहज जीवन जिउने कलापनि सिकाइयो । पछिल्लो समयमा तीव्रताका साथ विश्वव्यपि रुपमा बढिरहेको महारोग मानसिक तनाव न्यूनिकरण गर्ने विभिन्न प्रभावकारी उपायहरु सिकाइएको थियो ।
    ओशोको ‘जोर्वा दि बुद्ध’ दर्शनमा आधरित राष्ट्रका लागि तपोवन नामक यस अभियानको पहिलो श्रृंखलामा राष्ट्रका विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्ति सहभागिता रहेको थियो । सहभागीहरुले २६ घण्टाको छोटो समय मै पनि आफ्नो मानसिक तनाव विसर्जन गर्दै सकारात्मक सोचको वृद्धी र अध्यात्मिक जागरण आफूभित्र जागृत भएको प्रतिकृया दिएका छन् ।
    हरेक १५–१५ दिनमा ओशो तपोवनले संचालन गर्ने यो अभियानमा समाजका जुनसुकै वर्ग, उमेर र तहतक्का व्यक्तिहरुले सहभागिता जनाउन सक्नेछन् । बोधिसत्व स्वामी आनन्द अरुण प्राचार्य रहनु भएको यस अभियानको अवधारणा स्वामी आनन्द देव भवन भट्ट को रहेको छ भने संयोजक स्वामी आनन्द अर्हत र सोविता सिम्खडा रहेका छन् ।


    पहिलो श्रृंखलाका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै अभियानका प्राचार्य बोधिसत्व स्वामी आनन्द अरुणले एक कप चियामा एक चम्चा चिनी मिसाउदा आउने मिठास जस्तै जीवनमा अध्यात्म मिसाउदा जीवन नै मिठो र सार्थक हुने बताउनुभयो । हामीले गरेका साना तिना कामहरुलाई हामी हाम्रो संसार ठान्छौ तर जीवनको समग्रतामा हेर्दा त्यो अत्यन्तै मुल्यहीन हुने भएकोले अनावश्यक भागदौड र तनाव नलिन उहाँले सबैलाई सुझाव पनि दिनुभयो ।