फेरि कहिले आउला मेलम्चीको पानी ?

NepalOm ३ वर्ष अघि
  • काठमाडौँ : बाढीले क्षतिग्रस्त संरचना पुनर्निर्माण गरी मेलम्चीको पानी आगामी चैतसम्ममा पुनः काठमाडौं उपत्यका ल्याउने गरी तयारी थालिएको छ । पहिलो चरणमा आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

    समितिले पहिलो चरणमा सडक विभाग, नेपाली सेना, स्थानीय पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको छ । गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन ।

    आयोजनास्थलमा रहेका संरचना लेदोले छोपिएकाले त्यो हटेपछि मात्रै क्षति यकिन हुने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । अहिले तत्काल ‘हेडवर्क’बाटै पथान्तरण गर्न नसकिने भएकाले वैकल्पिक पानी पथान्तरणको विषयमा सोचिरहेको समितिको भनाइ छ ।

    ‘हेडवर्क’ नजिकै नदीको सतहमा गिट्टी, बालुवा थुप्रिएको र त्यो सफा गर्न चुनौती रहेको छ । हेलम्बु–१ अम्बाथानस्थित आयोजनास्थलमा गत असार १ मा गएको बाढीका कारण क्षति पुगेको थियो । त्यसपछि साउनमा पुनः आएको बाढीले यहाँ रहेका संरचनामा थप क्षति पुगेको समितिले जनाएको छ ।