दसैं, तिहार र छठलक्षित सुथप मूल्य पसल सञ्चालनमा

NepalOm ३ वर्ष अघि

  • काठमाडौँ : दसैं, तिहार र छठपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । सुपथ मूल्य पसलबाट खाद्य व्यापार कम्पनीले दाल, चामल, पिठो, चिउरा, तेल, नुन, फापर, सिमी, खसीबोकामा छुट दिएको छ । साल्ट ट्रेडिङले नुन र चिनीलगायतका खाद्यवस्तु र दुग्ध विकास संस्थानले घिउ र पनिरमा छुट दिएको छ ।

    खाद्य व्यापार कम्पनीले फापर, सिमी भटमासको तेल, चामल र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ । यसैगरी, पिठो, चिउरा, तोरीको तेल, सनप्mलावरको तेल, दालमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ र पनिरमा प्रतिकिलो २० रुपैयाँ छुट दिएको छ । साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिएको छ । खाद्य व्यापार कम्पनीले देशका विभिन्न ३९ जिल्लाको ४३ वटा स्थानबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

    यस्तै, साल्ट ट्रेडिङ कर्पाेरेसनले ३२ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ । साल्ट ट्रेडिङको सुपथ मूल्य पसलबाट नुन प्रतिकिलो १८ रुपैयाँमा र चिनी प्रतिकिलो ७९ रुपैयाँमा पाइनेछ । साल्ट ट्रेडिङका अनुसार चिनी प्रतिव्यक्ति २ किलो र नुन ६ किलोसम्म किन्न पाइनेछ । दुग्ध विकास संस्थानका महाप्रबन्धक रुद्रप्रसाद पौडेलका अनुसार प्रतिकिलो १ हजार रुपैयाँ पर्ने घिउलाई ५० रुपैयाँ छुट गरी ९ सय ५० मा बिक्री गरिनेछ । डिब्बामा भएको घिउ अहिले १ हजार २० रुपैयाँमा बिक्री गरिँदै आएको छ । अब भने ५० रुपैयाँ छुट दिएर ९ सय ७० मा बिक्री गरिनेछ ।

    महाप्रबन्धक पौडेलले पनिर २ सय ग्राममा ५ रुपैयाँ, ५ सय ग्राममा १० र एक किलोमा २० रुपैयाँ छुट दिएर बिक्री गरिने बताए । उनले काठमाडौंमा डीडीसीको सपुथ पसल लैनचोर, खुमल्टार र न्युरोडबाट सहुलियतमा बिक्री गर्नुका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङको पसलसँग समन्वय गरेर सँगै संस्थानको उत्पादन छुट दिएर बिक्री गर्ने बताए । खाद्य व्यापार कम्पनीले काठमाडौं उपत्यका थापाथाली, सूर्य विनायकलगायतका चार स्थानबाट सुपथ पसल सञ्चालन गर्नेछ ।

    यसैगरी, साल्ट ट्रेडिङले काठमाडौं उपत्यकाका कालिमाटी, कोटेश्वर, सतुंगल, जावलाखेल, भक्तपुर गरी ६ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । यस्तै, तीनवटा घुम्ती सेवा सञ्चालन हुने कर्पाेरेसन प्रवक्ता कुमारराज भण्डारीले जानकारी दिए । यसैगरी, खाद्य व्यापार कम्पनीले अनलाइनमार्फत पनि सहुलियत दिएर उपभोक्ताको घरमा खाद्यवस्तु प¥याउने जनाएको छ ।

    सरकारले दसैं तिहार र छठजस्ता पर्वमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने हुँदा बजार निजी व्यापारीको मनपरी मूल्यलाई नियन्त्रण गर्न सरकारले दसैं तिहार छठपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरसनमार्फत सुपथ पसल सञ्चालन गर्दै आएको छ ।