आज विजयादशमी: मान्यजनको हातबाट टीका तथा जमरा लगाएर मनाइँदै

Nepal Om २ वर्ष अघि
  • काठमाडाैं,२९ असाेज । नेपालीहरूको महान् चाड बडादसैँको आज मुख्य दिन मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ ।

    असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तीको प्रतीकका रुपमा मनाइने विजयादशमी दशैँको महत्त्वपूर्ण दिन हो । मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर मनाइँदैछ । आज टीकाको उत्तम साइत १० बजेर दुई मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

    यद्यपि आज दिनभर नै टीका ग्रहण गर्न मिल्ने समितिले जनाएको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । आज मान्यजन, अग्रज र आफूभन्दा ठूला व्यक्तिबाट दुर्गा भवानीको प्रसादको रुपमा टीका र जमरा लगाउने र आशीर्वाद लिने चलन छ ।

    आजदेखि पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ ।