डोटी कत्यूरी पालराज्य र प्राचीन कटारमल्लको मन्दिर

Lok Bhatta २ वर्ष अघि
  • लोकराज भट्ट

    रातो रंगको रथ, सात घोडामा सवार आदिपञ्च देवताहरूमध्ये एक सूर्यदेवलाई सर्वोपकारी साथै सर्वप्रेरक र सर्वप्रकाशक मानिन्छ ।

    सूर्य भगवानबाट मात्र पृथ्वीमा जीवन रहेको हुनाले सूर्यलाई ‘संसारको आत्मा’ भनिन्छ र नौ ग्रहको राजा मानिन्छ । हिन्दुमान्यता अनुसार सबै देवताहरूमध्ये सूर्यलाई मात्र कलियुगको दृश्य देवता मानिएको छ ।

    भारतको ओरिसाको कोणार्क सूर्य मन्दिर विश्वप्रसिद्ध मानिन्छ । तर देवभूमि उत्तराखण्डमा
    रहेको कटारमल्ल सूर्य मन्दिरको वास्तविकता झनै रोचक छ ।

    भव्य कटारमल्ल सूर्य मन्दिर उत्तराखण्डको अल्मोडा जिल्लाको अधेली सुनार गाउँमा, समुन्द्री सतहबाट करिब २११६ मिटरको उचाइमा अवस्थित छ । जुन अल्मोडा शहरबाट करिब १६ किलोमिटरको दूरीमा अवस्थित छ ।

    मन्दिर निर्माण

    यस भव्य मन्दिरको निर्माण ६ देखि ९ औं शताब्दीको बीचमा भएको मानिन्छ । त्यसबेला उत्तराखण्डमा कत्यूरी वंशको शासन थियो । यस मन्दिरको निर्माण कत्यूरी वंशका राजा कटारमल्लले गरेका थिए । त्यसैले यस मन्दिरलाई कटारमल्ल सूर्य मन्दिर भनिन्छ । यस मन्दिरको सम्बन्धमा राजा कटारमल्लले एकै रातमा बनाएको विश्वास पनि छ ।

    मन्दिरको विशेषता

    पहाडका पाइला जस्तै खेतहरू पार गरेपछि अग्ला देवदारका हरियाली रुखहरूको बीचमा यो
    कटारमल्ल सूर्य मन्दिर अवस्थित छ । मन्दिरमा पाइला राख्ने बित्तिकै यसको भव्यता, विशालताको अनुभव स्वतः हुन थाल्छ । यहाँ काठको ढोकामा गरेको अचम्मको नक्सांकन र ठूला चट्टानहरूमा कोरिएका कलाकृतिहरू हेरिरहुँलाग्दा देखिन्छन् ।

    कटारमल्ल मन्दिर परिसर

    कटारमल्ल सूर्य मन्दिर, पूर्व दिशा, एक उच्च वर्ग प्लेटफार्म मा बनाइएको छ । मुख्य मन्दिर त्रिरथ संरचनाबाट बनेको छ । अर्कोतर्फ, वर्गाकार गर्भगृह र शिखर घुमाउरो छ, जुन नागरा शैलीको विशेषता हो ।

    मन्दिरको सबैभन्दा ठूलो विशेषता

    यस मन्दिरको सबैभन्दा महत्वपूर्ण विशेषता यो छ कि, भगवान सूर्यको मूर्ति कुनै धातु वा ढुङ्गाको नभई बडको रूखको काठबाट बनाइएको छ, जुन आफैमा अद्भुत र अद्वितीय छ । त्यसैले यस मन्दिरलाई “बड आदित्य मन्दिर” पनि भनिन्छ ।

    कटारमल्ल मन्दिर परिसर

    वास्तुकला र मूर्तिकलाको अद्भुत नमूनाको रूपमा मुख्य मन्दिर बाहेक यस स्थानमा साना ठूला ४५ वटा मन्दिर छन् । जसमा भगवान् सूर्य देवता बाहेक भगवान शिव, पार्वती, श्री गणेश, भगवान लक्ष्मी नारायण, कार्तिकेय र भगवान नरसिंहका मूर्तिहरू छन् । यो उत्तराखण्डको एक मात्र मन्दिर हो, जहाँ बडको रूखबाट बनेको मूर्तिको रूपमा भगवान सूर्यको पूजा गरिन्छ ।

    मन्दिर को पौराणिक कथा

    पौराणिक सन्दर्भका अनुसार सत्ययुगमा ऋषि मुनि सधैं उत्तराखण्डको गुफाहरूमा आफ्नो तपस्यामा लीन हुनुहुन्थ्यो तर असुरहरूले समय समयमा यातना दिएर तपस्यामा बाधा पु¥याउँथे ।

    एकपल्ट असुरको अत्याचारबाट विचलित भएर दुनागिरी पर्वत, कशया पर्वत र कंजर पर्वतमा बस्ने ऋषिहरू कोशी नदीको किनारमा आएर सूर्य भगवानको पूजा गरे । उनको कठोर तपस्या देखेर, सूर्य भगवान प्रसन्न हुनुभयो र सबैलाई राक्षसहरूको अत्याचारबाट मुक्त गर्नुभयो ।

    यसबाहेक सूर्यदेवले आफ्नो महिमा एक वटशिलामा स्थापना गर्नुभयो । त्यसबेलादेखि भगवान सूर्यदेव यहाँ (वटशिला) वटको काठको मूर्तिमा विराजमान छन् । धेरै वर्ष पछि, छैठौंैं शताब्दीको मध्यमा, राजा कटारमल्लले यस स्थानमा भगवान सूर्यको भव्य कटारमल सूर्य मन्दिर निर्माण गरेका थिए ।

    डोटी कत्यूरी पालराज्य

    कत्यूरी राजा, गुप्त राजा विक्रमादित्यका वंशज थिए । कुमाउ गडवाल उज्जैन–पाटलीपुत्रबाट आएका थिए । कत्युरी राजासँग धेरै सुन र चाँदी थियो । खस राजा क्रचल्ले शाके ११४५ मा रणचुला कोटको कत्युर घाटीमा आक्रमण गरे । उसो त त्यो भन्दा पहिले पनि धेरै युद्धहरु भैसकेका थिए ।

    सन् १९९९ मा डोटी जिल्लाको साना गाउँमा माटोको भाँडोमा राखिएको ७ धारनी (३५ किलो) सुन फेला प¥यो । पछि यो सुन नेपाल सरकारको कोषमा राखिएको थियो । उक्त धनपैसा रणचुलाकोटबाट लुटिएको सुनबाट बचेको सुन भएको मान्यता रहँदै आएको छ ।

    क्रचल्लको देवता मस्टो थियो, उनले रणचुलाकोटको बैदिक देवताको मुर्ति समेत तोडेका थिए । उक्त भाँचिएको मूर्ति रञ्चुलाकोट क्षेत्रमा अहिले सम्म छँदै छ भनिन्छ । खस राजाले शाके ११४५ मा कत्युरी राजालाई सुन र चाँदी लुट्नका लागि आक्रमण गरेका थिए । यस आक्रमणबाट कार्तिकेयपुर राज्य ध्वस्त भएको इतिहास कुमाऊमा प्रचलित छ ।

    कुमाऊमा अवस्थित प्राचीन मोहन्यालको मन्दिर

    कत्यूरी राजवंशका राजा अजयपालदेवले ११औँ शताव्दीको शुरुवात तिर हालको डडेल्धुरा जिल्लामा रहेको अजयमेरु दरवारको स्थापना गरेका थिए । यहाँ प्राचीन दरवारको भग्नावाशेष, नाउला देवल, वीरखम्ब, कलात्मक सिलिङ्ग राजाको वैठक स्थल लगाएतका ऐतिहांसिक धरोहर छरिएर रहेकाछन् ।

    अजयमेरुमा रहेका ३ नाउला मध्ये दुई नाउँला भग्नावशेष अवस्थामा छन् । एक नाउला पानीखान प्रयोग भइरहेको छ । रानी नुहाउन जाने सिडी कोटदेखि तल खोलासम्म छ । यस स्थानका नाउला र डोटी निरोली, रिसेडीकोट वरपर रहेका नाउलाहरूको वनौट उस्तै देखिन्छ । पुरातत्व र अनुसान्धानको नजरले यो निकै महत्वपुर्ण छ । गहिरो अध्ययन र उत्खनन् गर्ने हो भने यहाँ थुप्रै चिजहरु फेला पार्न सकिन्छ ।

    भगनावशेष अजयमेरु डडेल्धुरा

    राजा निरयपालदेवको ताम्रपत्र र वि.स.१४१९ सम्मका लेखहरु रहेको यो अजयमेरु कोट रैका राजवंशका नागीमल्लले वि.स.१४४१ मा कब्जा गरेपछि भने रैका राजा नागीमल्लको कोटको रूपमा चिनिन गएको भनिन्छ । त्यसैले यसकोटलाई केही मान्छेहरु राजा नागी मल्लको कोट पनि भन्ने गर्दछन् । वास्तवमा यो कोट कत्यूरी पालराजाहरूले निर्माण गराएको कोटरहेको इतिहासमा भेटिन्छ ।

    वि.स.१४१९ देखि १४४१ को अवधि (२२ वर्ष सम्म) यस कोट वरपर कुनै प्रमाणहरु भेटिएका छैनन् । यस बीचको अवधिमा कत्यूरी पाल र रैकाराजा बीचमा युद्ध भएको अवधि मानिएको छ ।

    अजयमेरु कोट डडेल्धुरा

    जुम्ला र दुल्लुवाट डोटी कत्यूरी पाल राज्य बिजय गरेर डोटीमा स्थापित भएको यो वंशजले डोटीमा रैका राजा नागीमल्लको समयदेखि शासन सञ्चालन गर्दै आएका थिए । कत्यूरी राज्य धोस्त भएपछि । कुमाऊ गडवाल सम्मको क्षेत्र डोटी खस राज्यको अधिनस्त बनेको थियो । त्यसअघि पनि बेला बखत डोटी र कुमाऊको शक्ति संधर्ष र युद्धहरु भएका थिए । जुन, युद्ध गाथाहरु सुदूपश्चिममा गाइने चैतहरुमा अझै भेटिन्छन् ।

    कत्यूरी राजाका देवता स्वामी कार्तिकेय (मोहन्याल) नेपालको बोगटान राज्यमा विराजमान छन् । कत्यूरी राज्य अन्त्य भएपछि उत्तराखण्डमा मोहन्यालको जात्रा र पुजा बन्द भएका थिए । हाल पनि डोटी बोगटानमा रहेका मोहन्यालका मुख्य पुजा स्थल, धामी नाच्ने गादी र कुमाऊमा रहेका कत्यूरीकालका धामी नाच्ने गादी उस्तै छन् । तर कुमाऊँमा प्रयोग विहिन छन् भने डोटीमा बिधि अनुसार समयमै पुजा र जात्रा हुँदै आएको छ । कत्यूरी राजाका कुल देवता मोहन्याल र डोटीमा रहेको प्रशिद्ध तीर्थ बडीकेदारको प्रसंग निकै रोचक छ ।

    कुमाऊमा अवस्थित प्राचीन मोहन्यालको धामी नाच्ने गादी प्रयोग विहिन

    जब नेपाल एकिकरण भयो, नेपाल अंग्रेज युद्ध भयो, यस फेरिफेरीमा डोटी राज्यमा रहेका कुमाऊ गडवालका धेरै भुभागहरु डोटी राज्यबाट अलग भए । आधा भूभाग भारतमा विलय भए र आधा नेपालमा रहे । त्यसपछि यहाँका धार्मिक, सांस्कतिक, पुरातात्विक धरोहरसँगको सम्बन्ध समेत लगभग अन्योलमै रह्यो । राज्य तर्फबाट सुदूरपश्चिम सँधै बिकट रह्यो । सुदूरपश्चिम र कुमाउ गडवाल अर्थात उत्तराखण्डको सम्बन्ध जोड्ने प्रयास कहिल्यै भएन ।

    डोटी बोगटानमा रहेको मोहन्यालको धामी नाच्ने गादी

    यसबेला कुमाउ गडवालका इतिहासकार, अनुसन्धानकर्ताहरुले खोजिगरेका कुराहरु पनि हामिले भेटाउन सकिरहेका छैनौं । हाम्रा खोजहरुबारे उनीहरु अनबिज्ञ छन् । हाम्रो संयन्त्र यस मामलामा निकै कमजोर छ । पर्यटनका कुरा मात्रै गर्ने हामिले उत्तराखण्डका कत्यूरी बंशका सन्ततिहरुलाई, मोेहन्याल र केदारको बाटो अझै देखाउन सकेका छैनौं । कयौं कटारमल्लका कथा, डोटेली कला, संस्कति र इतिहासको पाटो खोज विहिन बनेको छ । रहस्यको गर्भमै हराएको छ ।

    केहि सन्दर्भ सामग्री र फोटोहरु सामाजिक संजालबाट साभार गरिएको हो ।