यस्ता छन् दानवको पूजाहुने मन्दिर !

Lok Bhatta २ वर्ष अघि
  • हिन्दू धर्ममा ३३ कोटी देवताहरुको उल्लेख गरिएको छ । यी देवताहरूलाई धेरै शक्तिशाली मानिन्छ । पृथ्वीमा धर्म र अधर्मको असन्तुलन हुँदा यी देवताहरू पृथ्वीमा आएर दानवहरूलाई मारेर मानिसहरूलाई संकटबाट बचाउने विश्वास गरिन्छ । जसका कारण हिन्दु धर्मका मानिसहरुको आफ्नो देवताहरुमा गहिरो आस्था रहेको छ ।

    पृथ्वीको सञ्चालन यिनै देवीदेवताले गर्ने जनविश्वास छ । विभिन्न भागमा विभिन्न देवी–देवताका मन्दिर छन्, जहाँ मानिसहरूले बिहान बेलुका यी देवताहरूको पूजा गर्छन् । तर के तपाईलाई थाहा छ केहि मन्दिरहरु यस्ता छन् जहाँ देवता नभई दानवहरुको पूजा गरिन्छ ? जान्नुहोस् यस्ता केही मन्दिरको बारेमा ।

    पुतनाको मन्दिर

    पुतना राक्षसी थियो । जब भगवान विष्णु कृष्णको रूपमा जन्मेका थिए, कंसले सानो कृष्णलाई मार्न पुतनालाई पठाए । पुतनाले आमा बनेर श्रीकृष्णलाई दूध खुवाउने बहानामा विष खुवाउन खोजेकी थिइन् तर श्रीकृष्णले दूध पिउने बहानामा उनको हत्या गरिदिए । गोकुलमा अझै पनि पुतनाको मन्दिर छ । यस मन्दिरमा पुतनाको मूर्ति छ । जसमा कृष्ण पुतनाको छातीमा बसेर दूध पिइरहेको देखिन्छन् ।

    हिडिम्बा मन्दिर

    हिडिम्बा शक्तिशाली भीमकी पत्नी थिइन् र उनी राक्षसी थिइन्। उनले राक्षसी भएर पनि धर्मको समर्थन गरेकी थिइन् । हिमाचलको मनालीमा हिडिम्बाको मन्दिर छ र उनको नियमित पूजा गरिन्छ ।

    शकुनीको मन्दिर

    छल र दुराचारमा माहिर मानिने शकुनीलाई कसले चिन्दैन । शकुनीको कारणले महाभारत युद्ध भएको थियो । शकुनीलाई खलनायकको रुपमा हेरिन्छ । तर यो खलनायकको मन्दिर केरलाको कोल्लम जिल्लामा रहेको छ । यस मन्दिरमा तान्त्रिक अनुष्ठान गर्न र शकुनीलाई नरिवल र रेशमी वस्त्र चढाएर दर्शन गर्ने गर्दछन् ।

    दुर्योधन मन्दिर

    केरलाको कोल्लम जिल्लामा दुर्योधनको मन्दिर छ । यो मन्दिर शकुनीको मन्दिरबाट अलि टाढा रहेको छ । कुरु वंशमा जन्मेका दुर्योधनमा राक्षसी प्रवृत्ति थियो तर पनि उनको पूजा गरिन्छ । यहाँ उनीहरूलाई स्थानीय रक्सी ताडी, रातो लुगा, नरिवल, पान आदि खुवाइन्छ । यसबाहेक उत्तराखण्डको उत्तरकाशी जिल्लामा पनि दुर्योधनको मन्दिर छ । दुर्योधनको मन्दिर नेटवर नामक ठाउँबाट करिब १२ किलोमिटर टाढा ‘हर की दून’ सडकमा रहेको सौर गाउँमा छ । यहाँबाट केही दूरीमा कर्णको मन्दिर पनि रहेको छ ।

    रावण मन्दिर

    मध्य प्रदेशको विदिशामा त्रेतायुगको रावणको मन्दिर छ । विदिशा जिल्लाको नाटेरान तहसीलमा रावण नामको एउटा गाउँ पनि छ, जहाँ रावणको मूर्तिको पूजा गरिन्छ । यदि यस स्थानमा रावणको पुजा नगरे कुनै पनि काम सफल नहुने यहाँका मानिसहरूको विश्वास छ । यसबाहेक कानपुरमा पनि रावणको मन्दिर छ । यो मन्दिर वर्षमा दुई दिन मात्र दशहराको दिन खोल्ने गरिन्छ । यस दिनमा रावणको मुर्तिलाई दूधले नुहाएर सजाइन्छ, पूजा गरिन्छ । यसबाहेक अन्य ठाउँमा पनि रावणको मन्दिर छन् ।