स्वर्ग र नर्क कुनै भौगोलिक स्थानहरू होइनन्

Lok Bhatta २ वर्ष अघि
  • सद्गुरु : तपाईंको बुझाइमा कसैको मृत्यु हुनु भनेको ऊ गयो भन्ने हो, तर त्यो जीवनको अनुभवमा ऊ शरीरबाट बाहिर निस्किएको मात्र हो । एकपटक कोही शरीरबाट निस्किएपछि, ऊसँग तपाईंको कुनै सरोकार बाँकी रहँदैन । तपाईं चिन्न समेत सक्नुहुन्न, अनि यदि ऊ फर्किएर आउने हो भने तपाईंमा त्रास उत्पन्न हुन्छ । यदि तपाईंले माया गरेको व्यक्तिको मृत्यु भएपछि ऊ फर्किएर आउने हो भने, त्यहाँ त्रास हुन्छ— प्रेम होइन । किनकि तपाईंको सम्बन्ध उसको शरीर वा चेतन मन र भावनासँग मात्र रहेको हुन्छ । कसैको मृत्यु भइसकेपछि यी दुवै पक्षहरू यहीँ त्यागिन्छ ।

    मन भनेको जानकारीहरूको थुप्रो मात्र हो, अनि यसका आफ्नै प्रवृत्तिहरू हुन्छन्, जुन निश्चित रूपमा प्रकट हुन्छ । जब कसैको मृत्यु हुन्छ, त्यसपछि भेद छुट्याउने विवेक रहँदैन, बुद्धि पनि रहँदैन । यस अवस्थामा, यदि तपाईंले तिनको मनमा एक थोपा मधुर वा प्रिय अनुभव हालिदिनुभयो भने, त्यो सुखद अनुभव लाखौँ गुणाले बढ्नेछ । त्यसैगरी, यदि तपाईंले एक थोपा अप्रिय अनुभव हालिदिनुभयो भने, त्यो अप्रियता पनि लाखौँ गुणाले बढ्नेछ । किनकि तिनमा कहिले रोकिने भनेर सोच्ने क्षमता हुँदैन, बुद्धि हुँदैन ।

    मृत्यु भएपछि भेद छुट्याउने क्षमता पूर्णतया समाप्त हुन्छ । तब तपाईंले त्यस मनमा जुन गुण हाल्नुहुन्छ, त्यो स्वतः लाखौँ गुणाले बढ्दछ । यसैलाई स्वर्ग र नर्क भनिएको हो । यदि तपाईं मधुर अनुभवमा पुग्नुभयो भने, त्यसलाई स्वर्ग भनिन्छ । यदि तपाईं अप्रिय अनुभवमा पुग्नुभयो भने, त्यसलाई नर्क भनिन्छ । स्वर्ग र नर्क कुनै भौगोलिक स्थानहरू होइनन्— यी केवल अनुभवजन्य वास्तविकता हुन्, जसबाट बेदेह (देह वा शरीर नभएको) जीवन गइरहेको हुन्छ ।