छठ पर्वको आज समापन गरिंदै 

NepalOm ५ वर्ष अघि
  •  आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ आज समापन गरिँदै छ । उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन गरिन लागेको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका छन् ।

    छठको तेस्रो तथा मूख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरिरहेका छन् ।

    उता, जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुईचो लागेको छ । दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरिरहेका छन् । वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझम रहेको छ ।

    छठको उल्लास नवलपरासीमा पनि कम्ति छैन । झापाको मेची नदी, विरीङ, मावा, रतुवालगायतका नदी किनारमा पनि भक्तजन भेला भएर पूजा आराधना गरेका छन् । सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर सदरमुकाम राजविराजसहितका स्थानमा पनि उत्तिकै उल्लासले पर्व मनाइँदै छ ।