काठमाडौं : नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध आज ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने गर्दैछ । पार्टीको केन्द्रीय कार्यसमितिको पुस १९ गते बसेको बैठकको निर्णयअनुसार कांग्रेसले आजदेखि दास्रो चरणको कार्यक्रम सुरु गर्न लागेको हो ।
सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण संसद् विघटन भएको ठहर गरेको कांग्रेसले त्यसविरूद्ध प्रदर्शन गर्न लागेको जनाएको छ । आज देशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमले संघीयता र लोकतान्त्र नै धरापमा परेको, मुलुकलाई अस्थिरता, अराजकता र असफलतातर्फ लैजाने ठहर गर्दै कांग्रेस त्यसविरुद्ध आन्दालनमा उत्रिएको हो ।
देशका विभिन्न ठाउँमा हुने प्रदर्शनलाई केन्द्रीय स्तरका नेताहरुले आफूलाई पायक पर्ने ठाउँमा सम्बोधन गर्ने प्रवक्ता शर्माले बताए । जसअनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं क्षेत्र नम्बर ५ को बुढानिलकण्ठमा सम्बोधन गर्ने तय भएको छ ।
प्रवक्ता शर्माले काठमाडौं क्षेत्र नम्बर ६ को प्रदर्शनी मार्गमा, गगन थापाले काठमाडौंको कपनबाट सम्बोधन गर्ने कार्यक्रम छ भने नेतृ सीतादेवी यादवले काभ्रेको प्रदर्शनलाई सम्बोधन गर्ने छिन् ।
यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गत गोलढुंगामा, प्रकाशमान सिंहले आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ को ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रका कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को दुबै क्षेत्रमा सो क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले सम्बोधन गर्नेछन् । उनी त्यहाँबाट नुवाकोटमा हुने विरोध सभामा समेत सहभागी हुन जानेछन् । काठमाडौं ६ को ‘ख’ प्रदेश सभामा नेतृ डा.डिला संग्रौलाले सम्बोधन गर्ने छिन् ।
यसैगरी क्षेत्र नम्बर ८ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा नेता नविन्द्रराज जोशी सहभागी हुनेछन् भने क्षेत्र नम्बर ९ को दुबै प्रदेश सभाको क्षेत्रमा नेता ध्यानगोबिन्द रञ्जितले नेतृत्व गर्नेछन् । यसैगरी क्षेत्र नम्बर १० को दुबै प्रदेश निर्वाचन क्षेत्रमा सो क्षेत्रका सांसद राजेन्द्र केसीले विरोध प्रदर्शनको नेतृत्व लिने भएका छन् ।
कांग्रेसको १९ पुसको केन्द्रीय कार्यसमितिको बैठकले पुस २५ मा देशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा, माघ ३ गते देशभरका ७५३ स्थानीय तहमा तथा माघ ८ गते देशभरका सबै स्थानीय तहसहित ६ हजार ७४३ वडाहरुमा संसद विघटनविरूद्ध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।