महाभियोगयता एक्लिँदै ट्रम्प, धरापमा राजनीतिक जीवन

NepalOm ४ वर्ष अघि
  • अमेरिकाको माथिल्लो सदन सिनेटले उनलाई हिंसा भड्काएको आरोपमा दोषी ठहर्‍यायाे र उनीविरुद्ध दुईतिहाइ मत पर्‍याे भने उनले न सन् २०२४ को चुनाव लड्न पाउँछन् न त कुनै सकारी पद नै प्राप्त गर्न सक्छन्। साथै पूर्वराष्ट्रपतिका लागि देशबाट पाउने विशेष अधिकारबाट समेत उनी वञ्चित हुनेछन्।
    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प देशमा चार वर्षसम्म छाए। उनका अगाडि कोही टिक्न सकेनन् भने उनी प्रमुख समाचार बनिरहे। तर बुधबार त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले उनीविरुद्ध महाभियोग प्रस्ताव पारित गरेयता ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) मा एउटा अनौठो सन्नाटा छाएको वासिङ्टनका पत्रकार बताउँछन्।

    ट्विटर, ट्रम्पको सबैभन्दा मनपर्ने सामाजिक सञ्जाल थियो, जसका माध्यमबाट उनले आफ्ना करोडौं समर्थकसँग सम्पर्क गर्थे। तर अहिले यसबाट पनि उनी ‘आउट’ भएका छन्। किनकि ट्विटरले उनको अकाउन्ट सधैंका लागि बन्द गरिदिएको छ। फेसबुक, युट्युब तथा इन्स्टाग्रामजस्ता प्लाटफर्मले पनि उनका अकाउन्ट बन्द गरिदिएका छन्।
    धेरै जना निकट साथीले उनको साथ छाडिसकेका छन्। राष्ट्रपतिजस्तो शीर्ष स्थानमा रहेर पनि उनी यतिबेला अत्यन्तै एक्लो महसुस गरिरहेका छन्। उनको राजनीतिक जीवन नै ध्वस्त हुने संकेत देखिन थालेका छन्।

    अब उनको राजनीतिक भविष्य अन्त्य भएको हो त? उनले अति विश्वास गरेको रिपब्लिकन पार्टीले पनि उनको साथ छाड्न लागेको हो त? उनी पार्टीका लागि घाँडो बनेका हुन् त? सबैभन्दा ठूलो सवाल हाे- रिपब्लिकन पार्टी यो संकटबाट चाँडै मुक्त हाेला वा ट्रम्प आगामी चुनावमा पनि पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्न पाउलान् त?

    राष्ट्रपति ट्रम्प यही जनवरी २० तारिखदेखि अमेरिकाका एक आम नागरिकमा परिणत हुने छन्। किनकि त्यस दिनदेखि नवनिर्वाचित राष्ट्रपति जाे बाइडेनले सत्ता सम्हाल्दै छन्। 

    अमेरिकाको माथिल्लो सदन सिनेटले उनलाई हिंसा भड्काएको आरोपमा दोषी ठहर्‍यायाे र उनीविरुद्ध दुईतिहाइ मत पर्‍याे भने उनले न सन् २०२४ को चुनाव लड्न पाउँछन् न त कुनै सकारी पद नै प्राप्त गर्न सक्छन्। साथै पूर्वराष्ट्रपतिका लागि देशबाट पाउने विशेष अधिकारबाट समेत उनी वञ्चित हुनेछन्।

    यस विषयमा अमेरिकी नागरिककाे मत विभाजित छ। राजनीतिक विश्लेषक बीजे रुदेल भन्छन्, ‘ट्रम्पको राजनीतिक अवसान हुन्छ भनेर बढाइचढाइ हल्ला फैलाइएको छ।’

    यही जनवरी ६ तारिख ट्रम्पका समर्थकले अमेरिकी संसदमा हिंसात्मक आक्रमण गरेपछि उनीविरुद्ध आफ्नै पार्टी रिपब्लिकनका नेता उभिएका छन्। उनीविरुद्ध पेस महाभियोग प्रस्तावका पक्षमा उनकै पार्टीका १० सांसदले मत दिएका  छन्।

    तर राजनीतिक विश्लेषक रुदल यतिकै भरमा ट्रम्पको राजनीतिक जीवन अब सकियाे भनेर लेख्नु मूर्खता हुने तर्क गर्छन्। उनी भन्छन्, ‘उदाहरणका लागि पछिल्लो वर्ष पत्रकार बब उडबर्डले कोरोना महामारी ट्रम्पका लागि निकै घातक साबित हुने दाबी गरेका थिए। तर सेप्टेम्बरपछि उनको लोकप्रियता ९२ प्रतिशतबाट बढेर ९४ प्रतिशत पुग्यो।’

    तर मुम्बईस्थित विदेश नीतिका थिंकट्यांक गेटवे हाउससँग सम्बन्धित पूर्वकूटनीतिज्ञ राजीव भाटिया राष्ट्रपति ट्रम्प र उनका पार्टीको भविष्य अनिश्चित बनेको बताउँछन्। बीबीसीसँग कुरा गर्दै उनले ट्रम्पको भविष्य उनको पार्टीले लिने निर्णयमा निर्भर हुने बताए।

    अमेरिकाको माथिल्लो सदन सिनेटमा सय सदस्य हुन्छन्, जसमध्ये ५१ जना डेमोक्रेटिक पार्टीका छन् भने ५९ सदस्य रिपब्लिकन पार्टीका। सिनेटमा हुने मतदानमा रिपब्लिकनका १७ सदस्यले मात्रै ट्रम्पविरुद्ध मत दिए भने दुईतिहाइ बहुमत पुग्छ। ट्रम्पविरुद्धको महाभियोग प्रक्रिया यही जनवरी २० पछि सुरु हुनेछ, जतिबेला उनी पदमुक्त भइसक्नेछन्।

    पूर्वकूटनीतिज्ञ राजीव भाटिया- रिपब्लिकन पार्टीले ट्रम्पलाई साथ दिएर अगाडि बढ्ने वा उनलाई छाड्ने, कस्ताे निर्णय गर्छ, त्यसैमा उनकाे राजनीतिक भविष्य भर पर्ने बताउँछन्। उनका अनुसार दुई यस्ता घटना भएका छन्, जुन ट्रम्प र रिपब्लिकन पार्टी दुवैका लागि नकारात्मक साबित भएका छन्।