पाकिस्तानमा भेटियो बुद्धकालको सबैभन्दा पुरानो मन्दिर

Lok Bhatta २ वर्ष अघि
  • पाकिस्तानी र इटालियन पुरातत्वविद्हरूको संयुक्त टोलीले उत्तर–पश्चिम पाकिस्तानमा २,३०० वर्ष पुरानो बौद्ध मन्दिर फेला पारेको छ । यसका साथै उत्खननमा अन्य केही बहुमूल्य वस्तुहरू पनि फेला परेका छन् । यो मन्दिर खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको बरीकोट तहसीलको बजिरा सहरमा फेला परेको हो ।

    यस सम्बन्धमा एक वरिष्ठ अधिकारीले भने, “पाकिस्तान र इटालियन पुरातत्वविद्हरूले उत्तर–पश्चिम पाकिस्तानको एक ऐतिहासिक स्थलमा संयुक्त उत्खननका क्रममा २,३०० वर्ष पुरानो बौद्ध कालको मन्दिर फेला पारेका छन् । यसबाहेक अन्य बहुमूल्य वस्तुहरू पनि बरामद भएका छन् जुन कुनै खजानाभन्दा कम छैनन् । स्वातमा पाइने यो मन्दिर पाकिस्तानको तक्षशिलामा पाइने मन्दिर भन्दा पुरानो छ ।

    मन्दिर बाहेक पुरातत्वविद्ले ग्रीसका राजा मिनान्दरको पालाको खरोष्ठी भाषामा लेखिएका सिक्का, औंठी, भाँडाकुँडालगायत अन्य २ हजार ७ सयभन्दा बढी बौद्ध कलाकृति बरामद गरेका छन् । स्वात जिल्लाको ऐतिहासिक नगर बाजीरामा उत्खननका क्रममा थप पुरातात्विक स्थल फेला पर्नेमा इटालियन विज्ञहरुले विश्वास व्यक्त गरेका छन् ।

    पाकिस्तानका लागि इटालियन राजदूत आन्द्रे फेरारिसले पत्रकारहरूलाई भने कि पाकिस्तानमा रहेका पुरातात्विक स्थलहरू विश्वका विभिन्न धर्मका लागि धेरै महत्त्वपूर्ण छन् ।

    यसअघि पिरामिडका लागि प्रसिद्ध इजिप्टका पुरातत्वविद्हरूको हातमा विगत ५० वर्षमा सबैभन्दा ठूलो सफलता हासिल भएको थियो । पुरातत्वविद्हरूले पुरातन इजिप्टका राजा फिरऊनका हराएका ६ वटा सूर्य मन्दिरमध्ये एउटा फेला पारेका छन् । यो सूर्य मन्दिर देशको मरुभूमि क्षेत्रमा उत्खननका क्रममा फेला परेको थियो । करिब ५० वर्षअघिको उत्खननमा पहिलो पटक यस्तो सूर्य मन्दिर भेटिएको थियो । यी मन्दिरहरू राजा फारो जीवित हुँदा उनलाई देवताको दर्जा दिनको लागि निर्माण गरिएको थियो ।