राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी

Lok Bhatta १ वर्ष अघि
  • राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा शुक्रबार राति सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    घटना शुक्रबार रातिको भए पनि ढिला गरेर मात्रै खबर आएको थियो । सम्पर्क कार्यालय भएकोले त्यति ठूलो क्षति नभएको प्रहरीको भनाइ छ । चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले घटनाको अनुसन्धान भैरहेको बताए ।

    आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ ।