
बेनी (म्याग्दी), ११ असार । म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाउँपालिकामा रहेका मूलबाट नै तातोपानी आउने मुहानको संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा रहेका छन् ।
प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीमा मात्रै म्याग्दी नदीको किनारमा पाँचवटा तातोपानीका मुहान रहेका स्थानीयवासीले बताएका छन् । त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानी, धौलागिरि गाउँपालिकाको मुदी बगर, मालिका गाउँपालिकाको भालेबास्ने ताल, हिस्तान र दानाको कालीगण्डकी किनारामा गरी नौवटा तातोपानीका मुहान संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा रहेका हुन् ।
जिल्लाका विभिन्न ठाउँमा गरी १४ वटा तातोपानीका मुहान पत्ता लागे पनि ती मुहानको संरक्षणमा कसैले पनि चासो नदेखाएको स्थानीयवासीको भनाइरहेको छ । मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका मुहानको संरक्षण गरी तिनको प्रचारप्रसार गर्न सक्ने हो भने राउण्ड अन्नपूर्ण र राउण्ड धौलागिरिमा आउने विदेशी पर्यटकका साथै विभिन्न रोगका बिरामीले लाभ लिन सक्ने सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए ।
प्राकृतिक उपचारस्थलका रुपमा परिचित बेनपा–४ सिंगा तातोपानीको म्याग्दी नदी किनारामा मात्रै पाँचवटा तातोपानीका मुहान भेटिएका समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । नेपालमा नै प्रशिद्धि कमाउन सफल तातोपानी कुण्डमा वार्षिक २० हजारको हाराहारीमा बिरामी डुबेर उपचार गर्न आउने गरेका छन् ।