
काठमाडौं, १५ असार । आज असार १५, देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।
नेपालको कुल गार्हस्थ उत्पादनमा २९.४ प्रतिशत योगदान कृषि क्षेत्रको छ । कृषिमा ६०.४ प्रतिशत जनसङ्ख्या आश्रित छन् । कृषि गार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ । हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भइरहेको छ ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असार १५ लाई नेपाली समाजमा दहीच्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ ।