काठमाडौँ, २० असार । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा आज हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइँदैछ । जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका दिन घर घरमा राखिएको तुलसीको दलबाट आजै विरुवा रोपी चार महिनासम्म विधिपूर्वक पूजा पनि सुरु गरिन्छ । कात्र्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म भगवान् विष्णु शयन गर्नुहुने भएकाले त्यसदिनसम्म विधिपूर्वक तुलसीको पूजा आराधना गरिन्छ ।
चतुर्मास समेत भनिने यी चार महिनामा तुलसीको पूजा गरे मनकामना पूरा हुने विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । असारदेखि कात्तिकसम्म ‘चतुर्मास माहात्म्य’ पाठ गर्ने र कथा वाचन एवम् श्रवण गर्ने परम्परा छ । जेठ शुक्ल एकादशीका दिन बीउ रोपी आजका दिन सारिएको तुलसीलाई छोरीका रुपमा घरमा हुर्काई बढाई हरिबोधिनी एकादशीका दिन दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गर्ने गरिएको भनाइ पनि छ ।
वैज्ञानिक रुपमा बढी अक्सिजन दिने भनी प्रमाणित भएको तुलसीलाई आयुर्वेदिक औषधिका रुपमा समेत उपयोग गरिन्छ । वैदिक कालदेखि नै पीपल, कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकस्वरुप पवित्र मानिन्छ । वर्षमा २४ एकादशी पर्छन् । तीमध्ये आषाढ शुक्ल र कात्र्तिक शुक्ल एकादशीलाई ठूली एकादशीका रुपमा लिइन्छ । अरु २२ एकादशीका दिन व्रत बस्न नसक्नेले पनि यी दुई एकादशीमा व्रत बस्ने गर्छन् ।
Copyrights © 2025 All Rights Reserved by nepalom.com