भक्तपुर, २४ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेद्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ केन्द्रीय समितिले यहाँ आज आयोजना गरेको कार्यक्रममा आगामी १०० वर्षपछि भक्तपुर कस्तो हुन्छ भन्ने परिकल्पना गरेर लेखिएको उक्त कृति सार्वजनिक गरिएको हो ।
सो अवसरमा लेखक बिजुक्छेले आगामी १०० वर्षमा भक्तपुर कस्तो हुन्छ भन्ने परिकल्पना गरेर तयार पारेको कृतिअनुसारको समाज निर्माण हुने बताए । काठमाडौँ उपत्यकाको विकासबारेमा वर्र्षांै पहिले विज्ञहरुले बनाएको विकासको खाका विपरीत अहिले बस्ती विकास भएको बताउँदै उनले कृतिमा भएको परिकल्पनाअनुसार अगाडि बढ्दा भक्तपुरको विकास त्यसअघि नै हुन सक्ने बताए । अध्यक्ष बिजुक्छेले स्मार्ट सिटी बनाउने नाममा केही राजनीतिक दल हरित क्षेत्र विनाशको काममा लागेकामा दुःख व्यक्त गरे।
बिजुक्छेको उक्त कृतिको पहिलो संस्करण विसं २०५९ मा प्रकाशित भएको थियो भने अहिले दोस्रो संस्करण सार्वजनिक गरिएको हो । रासस
Copyrights © 2025 All Rights Reserved by nepalom.com