भोजपुरमा आम्दानीको राम्रो स्रोतका रूपमा रुद्राक्ष खेतीलाई लिने गरिन्छ । रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुरमा हरेक वर्ष यसको कारोबारबाट करीब एक अर्बभन्दा बढी रकम भित्रिने गरेको छ । रुद्राक्षको व्यापार असोजदेखि शुरु हुने भए पनि पछिल्लो समय यसको कारोबार भदौको पहिलो सातादेखि नै शुरु हुने गरेको षडानन्द नगरपालिका व्यापारी एकबहादुर जिसीले बताउनुभयो ।
यो वर्ष व्यापारीले रुद्राक्ष बगैँचाबाट ठेक्कामा लिन शुरु गरिसकेका छन् । भोजपुरमा एक किसानले २५ देखि २०० वटासम्म रुद्राक्षका रूख रोपेर आम्दानी लिँदै आएका छन् । धेरै मुख भएको एउटै दानाको रु २१ लाखमा समेत किसानले बिक्री गरेको उदाहरण छ । गत वर्ष भोजपुरका एक किसानले एउटा रूखलाई रु ५५ लाखमा बिक्री गरे भने अर्का एक किसानका परिवारले तीन वर्षका लागि रु एक करोडमा रुद्राक्षको बगैँचा नै बिक्री गरेका छन् ।
विशेषगरी रुद्राक्षको मुख, तौल र आकार हेरेर किनबेच हुने गर्छ । मुख र आकारले रुद्राक्षको मूल्य निर्धारण गर्छ । यसको मूल्य मुख र आकारका आधारमा कम तथा बढी तोकिने व्यापारीहरु बताउँछन् । गत वर्ष दुई मुखेलाई २० हजारदेखि ३० हजारसम्म र तीन मुखेलाई ३०० देखि ५०० सम्म, पाँच मुखेलाई ४० देखि १०० सम्म र सात मुखेलाई ५०० देखि एक हजार रुपैयाँसम्ममा किनबेच भएको थियो ।
यसैगरी, आठ मुखेलाई एक हजार ५०० देखि तीन हजारसम्म, ९, १० र ११ मुखेलाई पाँच हजारदेखि १० हजारसम्म तथा १२ मुखेलाई सात हजारदेखि १२ हजारसम्म, १३ मुखेलाई १० हजारदेखि १५ हजारसम्म र १४ मुखेलाई २५ हजारभन्दा बढीमा बिक्री भएको कृषकले बताएका छन् ।
बीस मुखे रुद्राक्ष पाँच लाखदेखि १५ लाखभन्दा माथि, २७ र २८ मुखे ४० लाखभन्दा बढीमा कारोबार हुन्छ । भोजपुरमा वार्षिक एक अर्ब रुपैयाँभन्दा बढीको रुद्राक्ष किनबेच हुने गरेको व्यापारी जिसी बताउनुहुन्छ । “चार वर्ष यता ४, ५ र ६ मुखेको रुद्राक्षको माग अत्यधिक बढेको छ,” भोजपुरका व्यापारी मक्कर तामाङले भन्नुभयो – “भोजपुरको दिङ्ला क्षेत्रमा फलेको एउटै रुद्राक्ष ५० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।”
विगतका वर्षमा जिल्लाभर करीब १५ टनसम्म रुद्राक्ष उत्पादन भएको डिभिजन वन कार्यालय भोजपुरका सहायक वन अधिकृत श्रीनारायण यादवले जानकारी दिनुभयो । भोजपुरको उत्तरी क्षेत्रमा प्रशस्त मात्रामा रुद्राक्ष उत्पादन हुने भए पनि सङ्खुवासभातिर सिधै निर्यात हुने भएकाले यकिन तथ्याङ्क राख्न नसकिएको यादवको भनाइ छ ।
धेरै परिश्रम, गोडमेल र मलजल गर्नु नपर्ने, बजार मूल्य पनि राम्रो पाइने भएकाले कृषकले खेतीयोग्य जमीन मासेर रुद्राक्ष खेती गर्ने गरेको स्थानीयवासी श्रीकृष्ण बोगटी बताउनुहुन्छ । उहाँका अनुसार रुद्राक्ष खेतीबाट भोजपुरका स्थानीयवासीको जीवनमा नसोचेको परिवर्तन आएको छ । न्यून आम्दानी हुने परिवारले अहिले रुद्राक्ष खेती गरेर काठमाडौँमै घर बनाएका छन् भने कतिपय काठमाडाँै, धरान, विराटनगर जस्ता ठूला शहरमा बसाइँ सरिसकेका छन् । “यहाँका रुद्राक्ष किसान तथा व्यापारीको घरमा महङ्गो मूल्य पर्ने मोटरसाइकल तथा अन्य सवारी साधन देख्न सकिन्छ,” उहाँले भन्नुभयो । भोजपुरमा रुद्राक्ष अत्यधिक उत्पादन हुने भए पनि यसको पहिलो बजार सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार नै हो ।
खाँदबारीमा खरिद हुने रुद्राक्ष तराईका जिल्ला, काठमाडौँ र भारतमा समेत निर्यात हुने गर्दछ । यस्तै, हाल चीन, यूरोप, अमेरिकालगायत मुलुकमा समेत रुद्राक्ष निर्यात हुने गरेको छ । चार वर्षयता चिनियाँ व्यापारीले चार, पाँच र छ मुखे रुद्राक्षसमेत माग गर्न थालेपछि किसान थप उत्साहित भएका छन् । अहिले चिनियाँ व्यापारी किसानको घरघरमै आउने गरेका छन् । रुद्राक्षको कारोबार फस्टाउन थालेपछि षडानन्द नगरपालिकाले निकासी कर लिने निर्णयसमेत गरेको छ ।
भोजपुरमा रुद्राक्षको इतिहास खोतल्दा १९३२ सालभन्दा पहिले भारतको काशीबाट ल्याएर बालागुरु षडानन्द अधिकारीले दिङ्लामा रोपेको भन्ने भनाइ पाइन्छ । रुद्राक्ष धार्मिक कार्यमै बढी प्रयोग हुन्छ । एकमुखेदेखि २१ मुखेसम्मका रुद्राक्षबारे महापुराणमा वर्णन गरिएको दिङ्लाबजारका तोयानाथ गौतम बताउनुहुन्छ ।
रुद्राक्ष रातो, कालो, सेतो र पहेँलो रङको पाइएको छ । कालो रङको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै, जुन रुद्राक्षमा प्वाल नपारिकन धागो छिराउन सकिन्छ त्यसलाई सबैभन्दा सर्वश्रेष्ठ मानिन्छ । भोजपुरको नेपालेडाँडा, कुदाकाउले, देउसाली, मूलपानी, केउरेनीपानीलगायत जिल्लाका विभिन्न ठाउँमा रुद्राक्षको खेती हुन्छ । रुद्राक्षको हेरचाह, गोडमेल सँगसँगै यसको प्रशोधन पनि गर्नुपर्छ । रुद्राक्षको खेतीबाट करीब दुई–तीन हजार कृषकले मौसमी रोजगारीसमेत पाएका छन् । अन्य बालीलाई जस्तो धेरै मिहिनेत गर्नु नपर्ने र राम्रो आम्दानी हुने भएकाले धेरै कृषकको रोजाइमा यसको खेती पर्ने गरेको छ ।
पछिल्लो समय यसतर्फ सबैको आकर्षण बढेकाले रुद्राक्षको दाना चोरी हुने, बोट काटिदिने समस्या बढेको स्थानीय किसानको गुनासो छ । कतिपय किसानले त यसको सुरक्षाका लागि बोटमै सिसी क्यामेरासमेत जडान गरेका छन् । प्रहरी प्रशासनले सुरक्षा दिने प्रयत्न गरेको भए पनि सुरक्षा दिन सकिरहेको स्थिति छैन ।
स्थानीय सरकारले यसको सुरक्षाको प्रबन्ध मिलाइदिनुपर्ने उनीहरुको माग छ । पछिल्लो समय रुद्राक्षको दाना राम्रो बनाउने बहानामा किसानबाट बगान खरिद गरेपछि ठेकेदारहरुले प्लास्टिकको क्लिप लगाउने चलन पनि बढेको छ । यसले रुद्राक्षलाई अप्राकृतिक बनाउने भएकाले प्रहरीले हटाएको थियो । यस विषयमा कृषक भने अनभिज्ञ छन् । प्रहरीले षडानन्द नगरपालिकाको केउरेपानी, मूलपानी लगायतको ठाउँमा रुद्राक्षको दानामा लगाएको त्यस्ता क्लिप हटाएको हो ।