हिन्दु धर्ममा मन्दिरहरू सामूहिक आस्था प्रकट गर्ने केन्द्र हुन् । आस्था र सामाजिकताका भावहरूलाई समेट्दै सनातन धर्ममा धार्मिक प्रांगणका रूपमा मन्दिरको निर्माण गरिएको हो ।
सभ्य समाजको कल्पनालाई मद्देनजर गर्दै यी मन्दिरहरूमा जाने र कर्मकाण्ड गर्ने केही नियम बनाइएका छन् । यस्ता नियममा जुत्ता चप्पल बाहिरै खोल्ने नियम पनि पर्छ । किन यसो गरिन्छ त ?
जुत्ता चप्पलमा राजसिक र तामसिक धातुहरूको प्रधानता हुन्छ । यो धातु पातालबाट आउने नकारात्मक ऊर्जालाई पृथ्वीको वातावरणमा मिसिनका लागि माध्यम बन्छ । मन्दिर परिसरमा चारैतर्फ ईश्वरीय प्रभावको फलस्वरूप सात्विकता र चैतन्यको वातावरण हुन्छ । यस्तो पवित्र वातावरणमा जुत्ता चप्पलले पातालको नकारात्मक ऊर्जा मन्दिरमा ल्याएर अपवित्र गराउँछ ।
अनि जुत्ता चप्पलमा धूलो र हिलो पनि टाँसिएको हुन सक्छ । यस्ता धूलोका कणहरूले मन्दिरमा नकारात्मक ऊर्जा फैलाइदिन्छन् ।
जुत्ता चप्पल लगाउने व्यक्तिको मानसिक स्तर पनि एक विशेष प्रकारको स्थितिमा हुन्छ । महंगो जुत्ता चप्पल लगाउने व्यक्तिमा एकखाले घमण्ड हुन्छ । हाम्रो समाजमा जुत्ताबाट धनी गरीब छुट्याउने पनि गरिएको छ । मन्दिरभित्र धनी र गरीबका बीचको फरक नछुट्टियोस् भन्नका लागि पनि जुत्ता चप्पल बाहिर खोलिएको हो । यसरी बाहिरै खोल्दा हामी आफ्नो पहिचानजन्य अहंकारलाई पनि बाहिरै उतार्छाैं र ईश्वरप्रति आफूलाई समर्पित गर्ने भाव बनाउँछौं ।
मन्दिरको वातावरण सात्विकताका कारण सधैं शीतल हुन्छ । हामीले नांगो खुट्टाका साथ मन्दिरको प्रांगणमा प्रवेश गर्दा त्यो शीतलतालाई पूरै शरीरमा महसूस गर्छौं । यसले तन र मन दुवैमा शीतलता छाउँछ ।
यिनै आधारहरूका कारण मन्दिरहरूमा जुत्ता चप्पल लगाएर जान वर्जित गरिएको छ । उसै पनि मन्दिरमा जुत्ता चप्पल विना नै हाम्रो मनले शान्ति र सात्विक वातावरण प्राप्त गर्छ ।