दसैंको तेस्रो दिन ,नवदुर्गाका नौ रूपमध्ये ‘चन्द्रघण्टा’को पूजापाठ गरी मनाईदै

चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ ।

NepalOm ५ वर्ष अघि
  • ओम नेपाल न्युज । दसैंको तेस्रो दिन आज नवदुर्गाका नौ रूपमध्ये ‘चन्द्रघण्टा’को पूजापाठ गरी मनाईदै छ ।
    आज चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ । दुर्गादेवीलाई खुसी पारी कार्यसिद्ध गर्न ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नमः’ मन्त्र १०८ पटक जप्नुपर्ने मान्यता रहेको छ । घण्टीको आकार जस्तै अर्धचन्द्र भएकाले चन्द्रघण्टा नाम रहन गएको हो । सुनजस्तो पहेंलो शरीर र दसवटा हात भएकी देवी भनेर देवीभागवतमा उल्लेख छ ।

    हातमा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुबाण, कमल पुष्प, अक्षमाला धारण गरी वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ मानिएको छ । चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारका दुःख, कष्ट नाश हुने र सबै प्रकारका बाधाव्यवधान हट्ने जनविश्वास छ । चन्द्रघण्टालाई विशेषगरी दूधका परिकार चढाइन्छ । यस दिन चार वर्षकी कन्यालाई ‘कल्याणी’ देवीको रूपमा पूजा गरिन्छ भने विशेष रूपमा चन्द्रघण्टालाई ऐना, सिन्दुर, गाजल लगायत सामग्री चढाइन्छ ।

    विशेष गरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी, पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्न भक्तजनको घुईचो लाग्ने गरेको छ ।