छठ पर्व सुरु, शनिवार छठ पर्वको मुख्य दिन

NepalOm ५ वर्ष अघि
  • काठमाडौं । ओम नेपाल न्युज
    पाँचदिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठ बुधबारबाट शुरु भएको छ ।
    छठको पहिलोदिन आज ब्रतालुले माछा र कोदो बारने दिन हो । यो दिनलाई माछमरुवा बार्ने दिन पनि भनिन्छ ।

    पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वको दोश्रो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने तेश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् । त्यस्तै चौथो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गर्छन् भने पाचौ दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

    यस वर्ष छठ पर्वको मुख्य दिन शनिवार परेको छ । शनिवार अस्ताउँदो र आईतबार उदाउँदो सूर्याको अर्घ दिएर छठ पर्व सम्पन्न हुन्छ ।

    छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

    तराई मधेशबासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा जुटेका छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ । त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाटलाई सृंगारिने काम भइरहेको छ । खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नवदुल्ही झै सजाएर झकिझकाउ बनाउने कार्य जारी छ ।
    अहिले गाउँघर, सहर बजार, गल्लीमा गुञ्जिरहेको छठपर्वको नानाथरी सुमधुर गीतले मिथिलाञ्चल लगायत तराई मधेश नै छठमय बनेको छ ।

    अस्ताउँदो र उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिईन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।