कांग्रेस ‘विभाग’ सकस : इतर समूह फकाउँदै देउवा

NepalOm ५ वर्ष अघि
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विभाग गठनका विषयमा सकस देखिएको छ। गत साता नै विभाग गठनको तयारी भएको भए पनि विधानमा व्यवस्था भएभन्दा बढी संख्यामा प्रस्ताव भएपछि सकस देखिएको हो।

    यही कात्तिक ७ मा सभापति शेरबहादुर देउवाले विभाग गठनसहित उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार टुंगो लगाउन भन्दै केन्द्रीय समिति बैठक बोलाएका थिए। सोअघि उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग ४२ विभागको प्रस्ताव गरेका थिए।

    तर, पौडेलले भने महासमितिबाट पारित विधानमा २८ विभागको मात्रै व्यवस्था भएकाले सोहीअनुसार नै गठन गरिनुपर्ने, नभए बैठकमा नै सहभागी नहुने भनेपछि बैठक स्थगित गरिएको थियो।

    सो विषयमा सहमति जुटाउन भन्दै सभापति देउवाले बिहीबार बिहान फेरि आफ्नै निवास बूढानीलकण्ठमा पदाधिकारीसहित शीर्ष नेताको बैठक बोलाएका खबर आजको राजधानी दैनिकमा छ।

    वरिष्ठ नेता पौडेलले उपनिर्वाचनसहित अन्य आवश्यक विषयमा छलफलका लागि बोलाइएको बताए। पौडेलले बैठकमा विभाग गठनसहितका विषय उठाइने बताएका छन्।

    ‘उपनिर्वाचनसहितका विषयमा छलफल गर्ने भन्ने छ, विभाग गठनका विषयमा पनि कुरा उठ्छ,’ वरिष्ठ नेता पौडेलले भने।