हाकिमको आँखा छलेर घाम ताप्छन् कर्मचारी

NepalOm ५ वर्ष अघि
  • ६ मंसिर, काठमाडौं । “केहीबेर घामछायाँ कक्षमा जाऊ न त,” बिहान १० बजे प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहाल कार्यालयबाट बाहिरिनेबित्तिकै कार्यकक्षमा भर्खरै पसेका केही कर्मचारी घाम ताप्न बाहिर निस्कन्छन्।

    राजधानीको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौँको परिसर वरपर बाक्लै सेवाग्राही हातहातमा कागजपत्र बोकेर कोठाहरू चहार्दैछन् तर केही कर्मचारी भने पारिलो घाममा आनन्द लिँदै बाहिरिएका र नवनियुक्त मन्त्रीहरूबारे समीक्षा गर्दैथिए । सेवाग्राहीको बाक्लो भीड लाग्न थालेपछि करिब आधा घन्टापछि कर्मचारी कार्यकक्ष प्रवेश भने गरे ।

    कार्यालयका प्रायः सबै कोठा ९ः३० बजे नै खुलिसकेका थिए तर कार्यकक्षमा कर्मचारी नहुँदा सेवाग्राही १०ः२० बजेसम्म झ्यालबाहिर पालो कुरेर बसेका देखिन्थे । प्रशासन कार्यालयको ढोकामा भेटिएका प्रजिअ दाहाल नवनियुक्त मन्त्रीको शपथ ग्रहणमा जान भन्दै ठीक १० बजे बाहिरिए। उनी निस्कनेबित्तिकै कार्यालयभित्र पस्दै गरेका कर्मचारीलाई पनि घाम ताप्न निस्किएका खबर आजको गोरखापत्रमा छ।

    १०० नम्बर कोठाको नागरिक सहायता कक्ष, १०१ नम्बरको नागरिकता शाखा, १०७ नम्बरको राहदानी शाखा र ११० नम्बरको संस्था दर्ता तथा नवीकरण शाखामा सेवाग्राहीको भीड १० बजे नै लाग्न थालिसकेको थियो । बिहान ९ बजेबाट साँझ ८ बजेसम्म कार्यालय बस्नु प्रजिअ दाहालको भने नियमित कार्य रहेछ तर बिहीबार बिहान १० बजे बाहिर निस्केपछि ४ बजेसम्म कार्यालय नआइपुगेको सो कार्यालयले जनाएको छ । अन्य दिन ९ बजे आइपुग्ने गरेका तीन जना सहायक प्रमुख जिल्ला अधिकारी बिहीबार भने ११ बजेपछि मात्र कार्यालयमा देखिए।

    सहायक प्रजिअ एवं प्रशासन कार्यालयका प्रवक्ता जीवनप्रसाद आचार्य र अर्का सहायक प्रजिअ गौलोचन सैँजू तालिमका कारण ११ः१५ मा आइपुगे। अर्का सहायक प्रजिअ कृष्णबहादुर कटुवाल अझै १५ मिनेट ढिलो आइपुगे कार्यकक्षबाहिर भीड बढेपछि सेवाग्राहीलाई गौलोचनको कक्षमा पठाइएको थियो। कटुवालको कार्यकक्षबाहिर टाँसिएको नेम प्लेटमा भने भित्र नै देखाइएको थियो।

    “उहाँ किन ढिलो हुनुभयो, खबर भएन, हामी दुई जना तालिममा भएकाले ढिलो भयौँ,” प्रवक्ता आचार्यले भने। कटुवाल प्रजिअ दाहाल तथा सहायक प्रजिअद्वय सँैजु र आचार्यसँंग सम्पर्क नै नगरी कार्यालयमा ढिलो गरी आइपुगेको जानकारी पाइयो तर पनि सेवाग्राहीहरूले प्रशासन कार्यालयको कामकारबाही छिटो हुने गरेको बताएका छन्। कीर्तिपुरका सज्जन महर्जन बिहीबार डेढ घन्टामै नागरिकता बनेको भन्दै दङ्ग थिए ।

    बिचौलिया छैनन्
    सेवाग्राही धेरै नै भएको राजधानीको जिल्ला प्रशासन कार्यालयले बिचौलियाको समस्या भने पूर्णरूपमा अन्त्य भएको दाबी गरेको छ। प्रवक्ता आचार्य भन्छन्, “विगतमा बिचौलियाका कारण सर्वसाधारणले बारम्बार दःख पाउँथे र कर्मचारी आर्थिक प्रलोभनमा फस्थे।” हुन पनि त्यहाँ बिचौलिया देखिएन । आवेदन फारामको व्यवस्था कार्यालयले नै गर्ने गरेको देखियो ।

    अब त्यस्तो अवस्था छैन, बिचौलियाबाट हुने सम्पूर्ण कामकारबाही छिटोछरितो र प्रभावकारी ढङ्गले प्रशासन कार्यालयले नै गर्न थालेपछि सो समस्याको अन्त्य भएको दाबी गरिएको छ । व्यक्तिगत शान्तिसुरक्षादेखि नागरिकता प्रमाणपत्रका लागि निवेदन पत्रसमेत प्रशासन कार्यालयको नागरिक सहायता कक्षले प्रदान गर्दै आएको छ ।