बिहिबार २ घण्टा ४९ मिनेटको सूर्यग्रहण , कुन राशीलाई कस्तो फल ?

NepalOm ५ वर्ष अघि
  • काठमाडौं , ओम नेपाल न्युज । यही पुस १० गते बिहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्दैछ।

    ग्रहण दुई घन्टा ४९ मिनेट लामो हुनेछ । नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेटमा ग्रहण सकिनेछ।

    सूर्यग्रहण लागेको बेला काठमाडौंबाट ४८ प्रतिशत सम्म कालो सूर्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले बताएको छ ।

    यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट पनि देखिनेछ।

    खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि सचेत गराइएको छ।
    ग्रहण लाग्नुभन्दा चार प्रहर १२ घण्टा अघि अर्थात पुस ९ गते बेलुकी ८ः४२ देखि भोजन गर्न नहुने धार्मि तथा बैज्ञानीक तथ्य छ । ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिन्छ ।

    ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

    ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

    कुन राशीलाई कस्तो फल ?

    यो ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो पञ्चाङ्ग मा उल्लेख गरिएको छ । मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ ।