स्वस्थानीको महिमा, बिधि र लाभ

NepalOm ५ वर्ष अघि
  • अहिले श्री स्वस्थानी ब्रतकथा चलिरहेको छ । यस अवसरमा राजधानीदेखि १७ किलोमिटर उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर साँखुस्थित शालिनदीमा पूजा तथा स्नान गर्नेको एक महीनासम्म दैनिक घुइँचो लाग्छ ।
    मणिशैल किनारमा महिला तथा पुरुष श्रीस्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन्न् । पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ ।

    देवीदेवताका लीलाका प्रसङ्ग जोडिएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार एक महिनासम्म निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गर्नुभएको थियो । यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालिनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने विश्वासमा ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।


    यस्तो छ महिमा
    एकतीस अध्याय रहेको यस व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको छ । श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ । राजधानीको मखनटोलस्थित तारिणीबहालभित्र पनि श्रीस्वस्थानीको मन्दिर छ । शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल संवत् ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ ।

    स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिनाका साथै सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यहरूको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ ।
    परम्परादेखि नै स्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालिनदीमा एक महीनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । एक महीनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ ।

    शालिनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णमिादेखि माघ शुक्ल पूर्णमिासम्म एक महीना मात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन रहेको स्थानीय दिलीप श्रेष्ठले बताउनुभयो । स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ ।
    “मेला अवधिभर साँखुका कुनै पनि घरमा स्वस्थानी र माधवनारायणबाहेक कुनै पनि धार्मिक अनुष्ठान विवाह, व्रतवन्धलगायत गर्ने चलन छैन । । मेला मूलआयोजक समितिका अनुसार यहाँ भक्तजनको सुविधा तथा शान्ति सुरक्षाका लागि मेला वरपर क्षेत्रमा सिसी क्यामेरा जडान गरिनका साथै विभिन्न उपसमिति गठन गरी मेलालाई व्वस्थित बनाउने तयारी भएको छ ।