सोमबार देखि एक सातासम्‍म भारत र चीनतर्फको नाका बन्द गर्ने सरकारको निर्णय

NepalOm ५ वर्ष अघि

  • काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन सरकार छिमेकी भारत र चीनसँग जोडिएका सीमावर्ती नाका बन्द गर्ने निर्णयमा पुगेको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो कठोर कदम चालेको हो । सामान्यतया सीमानाका बन्द गर्न दुई देशबीचको आपसी सहमति आवश्यक पर्छ ।

    भारतमा कोरोनाको सङ्क्रमण फैलिँदै गएपछि सीमा नाका बन्द गर्नु पर्ने आवाज चौतर्फी रुपमा उठेको थियो । नागरिक तहबाट सीमा नाका बन्दको माग उठेपछि सरकारले यस्तो कदम चालेको हो । चैत १० गतेदेखि एक साताका लागि छिमेकी भारत र चीनतर्फका नाका बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

    विश्वव्यापी बनेको कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सरकारले उपचार र औषधि सहज बनाउन राहत कोष स्थापना गर्ने निर्णयसमेत गरेको छ । मन्त्रिपरिषद्ले सरकारको तर्फबाट ५० करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको हो । कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले एक महिनाको तलब उपलब्ध गराउने निर्णय भएको छ ।सरकारले कोषमा सहयोग गर्न अन्य सबै इच्छुकलाई आह्वान गर्ने समेत निर्णय गरको छ ।

    सरकारले यसअघि सोमवारदेखि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरिसकेको थियो । लामो दुरीका सार्वजनिक सवारी पनि सोमवारदेखि बन्द हुँदैछन् । चीनबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण विश्वका १६५ भन्दाबढी मुलुकमा फैलिएको छ । आइतवार साँझको तथ्याङ्क अनुसार कोरोनाबाट विश्वमा १३ हजार ६ सय ७१ जनाले ज्यान गुमाएका छन् । तीनलाख १८ हजार भन्दाबढी मानिस सङ्क्रमित छन् । उपचारपछि निको भएका विरामीको सङ्ख्या ९६ हजारको हाराहारीमा छ ।