भोली अर्थात असार २५ गतेदेखि असार २८ सम्म यो बर्षकै सबैभन्दा धेरै पानी पर्नसक्ने भन्दै सचेत रहन राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणले सबैमा आग्रह गरेको छ ।
प्राधिकरणले विज्ञप्ती जारी गर्दै वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकोले बाढी पहिरो र डुबानको खतरा रहेको उल्लेख गरेको छ । यो वीचमा झन ठुलो पानी पर्दा बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सबै सचेत र चनाखो बन्न आग्रह समेत गरेको छ ।
४ प्रदेशमा सबैभन्दा धेरै बर्षा हुदै
प्राधिकरणले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा बर्षकै सवैभन्दा ठुलो बर्षा हुन सक्ने अनुमान गरेको छ । शुक्रवारदेखि आइतबारसम्म कन्काई, कोशी, वाग्मती, नारायणी र यसका सहायक नदीहरुमा पानीको बहाव बढ्ने अनुमान गरिएको छ । प्रदेश १ र २ का चुरे तथा तराई भएर बग्ने नदीहरुमा ठुलो बाढी आउनसक्ने भन्दै आसपासका नागरिकलाई सुरक्षित भएर बस्न प्राधिकरणले आग्रह गरेको हो । तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट तथा चितवनका धेरै भाग डुवानमा पर्न सक्ने अनुमान प्राधिकरणले गरेको कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
प्राधिकरणले बाढी, पहिरो तथा डुवानबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्वर ११५५ र आपतकालीन सेवाको लागि राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नम्वर ११४९ मा २४ सै घण्टा जानकारी गराउन सक्ने ब्यवस्था समेत गरेको छ ।।