सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढी, दर्जनौं बेपत्ता, २ को मृत्यु, प्रहरीलाई घटना स्थानमा पुग्न कठिनाइ

NepalOm ४ वर्ष अघि
  • काठमाडौं ।
    सिन्धुपाल्चोकको बाह्रबिसेमा गत राति आएको भीषण बाढीले कम्तिमा १४ जना बेपत्ता भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

    राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाले जानकारी दिएको छ ।
    आज बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ ।

    खाँडिचौरभन्दा माथिको पुल बगाएको कारण प्रहरीहरु लामो बाटो भएर घटनास्थलसम्म पुग्नुपरेको थियो । घटनास्थलमा रहेका बाह्रबिसेका इन्सपेक्टर नवराज न्यौपानेका अनुसार पछिल्लो जानकारी अनुसार २ जनाको शव फेला परेको छ भने २ जना घाइते रहेका छन् । १४ जना हराइरहेका छन् । त्यस्तै, ११ घरमा पूर्णरुपमा क्षति भएको छ ।
    खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।

    ठाउँठाउँमा बाटोमा क्षति भएको कारण प्रहरीलाई सो स्थानमा पुग्न कठिनाइ भइरहेको छ । क्षतिको यकिन विवरण आइनसकेको प्रहरीको भनाइ छ ।