काठमाडौं ।
सार्वजनिक सवारी साधन चल्न दिने निर्णय सरकारले गरेको छ ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । तर सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा यो कुरा सार्वजनिक गरेका हुन । कोभिड–१९ का सन्दर्भमा सरकारको थप निर्णय भन्दै उनले यसबारे जानकारी गराएका हुन् ।
काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् ।
मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताए ।
ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्नुपर्नेछ । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् ।
सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।
चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ । एक दिनमा एक पटक बस निसंक्रमण पनि गर्नुपर्नेछ ।