ओलीको अयोध्या अभिब्यक्तीमा बाबुराम र कमल थापाको आलोचना

NepalOm ४ वर्ष अघि
  • काठमाडौं ।
    त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएर प्रधानमन्त्री केपी शर्मा ओली फेरी बिबाद र चर्को आलोचनामा परेका छन ।

    नेकपासहितका राजनीतिक दलका नेता, कूटनीतिक मामिलाका जानकार र पत्रकारहरुले ओलीको अभिव्यक्तिको आलोचना गरेका हुन् ।

    पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ओलीलाई आधी–कविको संज्ञा दिँदै ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं सीधै वैकुण्ठधामको यात्रा गरौं भनेर व्यंग्य गरेका छन् ।

    ओलीका वचन र कर्मले सीमा नाघ्दैछन् भन्दै डा भट्टराईले अब ओलीलाई छाडा छाडे खतरनाक हुने आशंका गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्– संसदमा ‘सिंहमेव जयते’ र बेसार–पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश र संकटकालको ‘खड्ग’ समेत वहाँको हातमा छ अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ उपचार खोजौं ।

    राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले उटपट्याङ कुरो गरेको टिप्पणी गरेका छन् । भारतसँगको सम्बन्ध बिगार्न ओलीले अप्रमाणित कुरा गरेको थापाको आशंका छ ।

    पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले लेखेका छन्, प्रमको स्तरबाट यस्ता उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन ।’