सिन्धुपाल्चोक, असार ३० ।
मेलम्ची खानेपानी आयोजनाको गम्भीर लापरवाहीको कारण आयोजनाकै एक इन्जिनियर सहित गाडी चालक वेपत्ता भएका छन् । सुरुङमा पानी परिक्षण भैइरहेको बेला १७ नम्वरको गेटबाट एक्कासी पानी बाहिर आएको थियो । पानी किन बाहिर आयो भनेर सुरुङभित्र गाडी सहित गएका इन्जिनियरलाई सुरुङको १७ नम्वर खुल्दा त्यहीबाट गाडी सहित बगाएको हो । वेपत्ता हुनेमा इन्जिनियर सतिश गोइत र गाडी चालक राधाकृष्ण थापा मगर रहेका छन् । त्यस्तै गम्भीर घाइते हुनेमा इन्जिनियर शेखर खनाल र साइट एसिस्टेन्ट प्रेम तामाङ रहेका छन् । घाइतेलाई हेलिकोप्टर मार्फत राजधानी ल्याइएको छ ।
एक्कासी पानी कसरी बाहिर आयो ?
मेलम्चीमा केही दिनदेखि सुरुङमा पानी हालेर परिक्षण भैइरहेको छ । यही क्रममा पानी सुरुङ भित्र पठाउदाँ १७ नम्वर गेट बन्द थियो । तर एक्कासी त्यहीबाट पानी आउन थालेपछि इन्जिनियरको टोली अर्को मार्ग हुदै सुरुङभित्र प्रवेश गरेको थियो । तर पानी फर्किएर आएपछि १७ नम्वर गेटबाट गाडी तथा २ इन्जनियरलाई बगाएको थियो । अर्का २ जनालाई भने पानीले बाहिर निकालेपछि स्थानीयले उद्दार गरेका थिए । मेलम्चीमा गम्भीर प्रकारको दुर्घटना भएसँगै कति असावधानीका साथ काम भइरहेको रहेछ भन्ने प्रष्ट भएको स्थानीयवासिन्दाले बताएका छन् । अहिले पानी परिक्षणमा त गम्भीर त्रृटी भयो भने भोलीका दिनमा झन् ठुलो दुर्घटना हुनसक्ने भन्दै स्थानीय वासिन्दाले आयोजनाको कामप्रति शंका ब्यक्त गरेका छन् ।