सुर्खेत । सुर्खेतमा कोरोना भाइरस कोभिड १९ का संक्रमितहरूले भोक हडताल गरेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्कस्थित आइसोलेसनमा रहेका संक्रमितहरु भोक हड्तालमा उत्रिएका हुन् ,पीसीआर विधिबाट कोरना परीक्षण गर्नु पर्ने माग गर्दै ।
१४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुमा कुनै लक्षण नभएको भन्दै घर पठाउन लागिएको थियो । वीरेन्द्रनगर नगरपालिकाकाले भने सरकारको प्रोटोकलअनुसार नै १४ दिन आइसोलेसनमा राखेर घर पठाउन लागिएको जनाएको छ ।
कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई दुई साता आइसोलेसनमा राखेपछि घर पठाउने सरकारको मापदण्ड छ ।
पीसीआर परीक्षण रिपोर्टबिना घर नफर्किने भन्दै उनीहरुले शनिबार दिनभर खाना समेत खाएनन । आइसोलेसन व्यवस्थापनले उपलब्ध गराइएको खाना नखाएर उनिहरुले खुला चौरमै छाडेका छन् ।
पीसीआर परीक्षण नगराएर घर पठाउँदा समाजमा घुुलमिल हुन आफूहरूलाई समस्या हुने भन्दै उनीहरूले पुनः परीक्षण गर्नुपर्ने अडान लिएका छन् ।