राष्ट्रपतिलाई साक्षी राखेर ओली र प्रचण्डले के सहमति गरे ?

मंसिरमा महाधिवेशन कति सम्भव !

NepalOm ४ वर्ष अघि
  • साउन ४, काठमाडौं ।

    शनिवार बालुबाटारमा बैठक थियो, नेकपा सचिवालयको । १ घन्टा लामो प्रवचन दिएका प्रधानमन्त्री ओलीले मंसिरमा पार्टीको महाधिवेशन गर्ने र अध्यक्ष पद पुष्पकमल दाहाललाई हस्तान्तरण गर्ने योजना सुनाए । त्यस लगत्तै दाहालले पनि यसमा समर्थन जनाए । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल सहित केही सचिवालय सदस्यको असहमति हुदाँहुदै दुवैजना बैठक अन्त्य गरेर राष्ट्रपति निवास पुगे ।

    एकाएक पार्टीको बैठक चलिरहदाँ राष्ट्रपतिमा प्रधानमन्त्री ओली सहित दुवै अध्यक्ष शितलनिवास पुग्नुलाई गम्भीर रुपमा लिइएको छ । स्रोतका अनुसार प्रचण्डले मंसिरमा महाधिवेशनबाट कसरी मलाई अध्यक्ष पद हस्तान्तरण गर्नुहुन्छ ? विश्वासिलो आधार के छ भनि प्रश्न गरेका थिए । त्यसपछि ओलीले राष्ट्रपति साक्षी राखेर काम गरौं भन्दै प्रस्ताव गरेपछि दाहाल राजी भएका थिए ।

    शीतलनिवासमा ओलीले मंसिरमा दाहाललाई एकल अध्यक्ष बन्न सघाउने र आफू अध्यक्ष नबन्ने लिखित सहमति नै भएको स्रोतको दाबी छ । तर प्रधानमन्त्रीमा ५ बर्ष नै ओली बन्ने सहमति जुरेको शीतलनिवास स्रोतले बतायो ।

    मंसिरमा महाधिवेशन सम्भव छ ?

    २०७४ जेठ ३ गते पार्टी एक भएको घोषणा गरेका तत्कालीन एमाले र माओवादीले २६ महिना भन्दा बढी समयमा एकताका धेरै काम सकेका छैनन् । पार्टीमा पोलिटब्युरो अझै गठन नै हुन सकेको छैन । लेखा आयोग र अनुशासन आयोगको हालत उस्तै छ । ४ सय ४४ जना जम्वो केन्द्रीय समिति भएको नेकपामा प्रदेश समिति, पालिकास्तरीय समिति र वडा समितिमा अझै लय लिन सकेको छैन । यो वीचमा ८ लाख संगठित सदस्य भनेपनि को संगठित सदस्य भन्ने एकिन नै नभएको अवस्थामा मंसिरमा महाधिवेशन असम्भव छ । त्यसमा पनि विशेष महाधिवेशन गर्ने हो भने पनि बर्षा सँगै दशै तथा तिहार जस्ता पर्व अनि अस्तब्यस्त पार्टी संगठन भएको अबस्थामा कसरी महाधिवेशन हुन सक्छ ? नेकपाका एक सचिवालय सदस्यले प्रश्न गरे । उनले थपे- यो सिधा जनता झुक्काउने र प्रधानमन्त्री आफ्नो कुर्सिमा बसिरहने खेल हो, तर हाम्रै नेता किन कुरा वुझिरहेका छैनन् !

    स्थायी समिति बैठक स्थगित

    आजलाई बोलाइएको स्थायी समिति बैठक नै विना कारण स्थगित भएको छ । किन स्थगित भयो भने ठोस कारण नै छैन । प्रचण्डले असन्तुष्ट नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजीलाई निवासमै बोलाएर ओलीसँग ठोस सहमति नभएको बताएका छन् । तर शीतलनिवासमा सहमति गरेर हामीलाई नढाँनुस् भन्दै असन्तुष्ट नेताहरुले प्रचण्डसँग आक्रोश पोखेर हिडेका थिए । उनीहरुले देशब्यापी रुपमा अभियान चलाउने र २ अध्यक्ष मिल्दैमा सबै मिल्न नसक्ने चेतावनी दिएका थिए ।