विश्वेश्वर प्रसाद कोइराला नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली, हिन्दी भाषाका साहित्यकार थिए । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे । कोइरालाको बाबुको नाम कृष्णप्रसाद कोइराला हो।
सुरूवाती जीवन
विश्वेश्वर प्रसाद राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो । आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद र उनका दाइ मातृकाप्रसाद कोइरालालाई इसं १९३० मा तीन महिनासम्म बेलायती सरकारले कैद गर्यो । यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो । १९३२ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे । त्यसपछि बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरे । अध्ययन पूरा गरे पछि दार्जीलिङमा बसेर धेरै समयसम्म कानुन पेशामा काम गरे । विद्यार्थी हुँदापनि उनी राजनीतिमा नजीक रहेका थिए । इसं १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्यो । त्यहाँबाट छुटेपछि उनले इसं १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो ।
नेपालमा राजनीतिक नेतृत्व
सन् १९४७ मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गर्यो । इसं १९५१ मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरू गरे। अक्टोबर १९५१ मा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यस पछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने।
सरकार विघटन तथा कैद
बिसं २०१७ साल पुस १ ,१५ डिसेम्बर १९६०० गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइरालाको सरकार भंग गरे । त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिनानै ८ वर्षसम्म कैदमा राखियो । इसं १९६८ उनलाई बनारस निर्वासनमा जान दिइयो । इ।सं। १९७६ मा उनी नेपाल फर्के तर तत्कालीन नेपाल सरकारले उनलाई देश द्रोहको अभियोगमा कैद गर्यो । अन्तर्राष्ट्रिय दबाबका कारण १९७८ मा उनका बिरूद्ध लगाईएका सबै अभियोगहरू सरकारले फिर्ता लियो ।२०३६ सालको आन्दोलन बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो । उनको मृत्यु २१ जुन १९८२ मा काठमाडौंमा भयो ।
साहित्यिक योगदान
विश्वेश्वर प्रसाद कोइरालाको स्केचचित्र
प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता विपी कोइराला स्वतन्त्र रुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् ।