किन गर्ने नागको पुजा ? नागपञ्चमी, पूजा र विधि

NepalOm ४ वर्ष अघि

  • काठमाडौं । ओम नेपाल न्युज ।
    हिन्दु धर्ममा लेखिएअनुसार नाग लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पुराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ ।नाग भगवान शंकरको आभुषण हो भने भगवान विष्णुको शय्या समेत हो ।

    पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक जरत्कारु र मनसादेवी सुपुत्रले अनुरोध गरे पछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिन देखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ ।
    त्यस्तै भविष्योत्तर पुराणमा पनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जना किसानको घरमा उसको दुइवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यस किसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नागदेवता रिसाई किसानको घरमा गई किसानसहित उसको परिवारलाई नै डस्यो तर उसको छोरी छिमेकीको घरमा नभएकोले बाँचिन् र भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाईन्, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाई दिएकाले यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको भन्ने पाइन्छ । यसरी नागपञ्चमी पर्वको सुरुआत भएको हो ।यो पर्व हाम्रो हिन्दु संस्कतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ । समग्र पाताललाई नै नागलोक भनिएको पाईन्छ ।पाताललोकमा बसेर समस्त पृथ्वीको रक्षा गर्ने भएकोले पनि नागलाई रक्षकको रुपमा पूजा गरिन्छ । वास्तु तथा घरपूजा गर्दा पनि नागको पूजा हुन्छ ।

    नागपञ्चमी पूजा र विधि

    प्रत्येक वर्ष आउने श्रावण शुक्ल पञ्चमी तिथि नागपञ्चमी हो । यो दिन बिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध,दही,घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले नागको पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले नागको तथा चट्याङ, भूकम्प आदिको भय हुँदैन । नागपञ्चमीका दिन यसरी विधि विधानले नागको पूजा गर्दा धनधान्य र सुखसम्मृद्धि प्राप्त हुन्छ र अन्य दैविक, भौतिक र प्राकृतिक आपतविपत र अनिष्टहरू नाश हुनुका साथै “कालसर्प” आदि गरिएको योग पनि नष्ट हुन्छ।