देशको विसंगतिमा जनता र पार्टी कार्यकर्ताको बाँकी उत्तरदायीत्व के ?

NepalOm ४ वर्ष अघि
  • जगदीश पौडेल ।

    केहि समय  अगाडीको   कुरा  हो, मेरा स्नाकोत्तर तहका सहपाठी साथीसँग फोनमा कुरा भयो । अहिले हामी दुवै विदेश तिर छौं ।  म अध्ययन को सिलसिलामा र उ रोजगारीको।  मैले  सन्चो बिसन्चो बारेमा सोध्ने बित्तिकै  उनलाई सोधे,- “साथी  नेपाल फर्किने होइन” ?  यसको प्रतिउत्तरमा साथीले नेपालको वर्तमान अवस्था हेर्दा नेपाल  फर्किने आधार र हौसला नभएको बताए ।  उनले  धाराबाहक रुपले नेपालको वर्तमान समस्या र अवस्था को बारेमा भट्याउन थाले । उ संगै मैले पनि केहि कुरा थप्दै गएँ, नेपालको  वर्तमान  परिस्थितीको बारेमा । 

    उनले भन्दै थिए- “हामीले राजनीतिक दलका नेताहरुको भाषण बर्सौदेखी सुनेंका सुन्यौ छौ। उनीहरुले हामीलाई भने  भोट दिनुहोस, हामी  युवाहरुलाई  हाम्रै  देशमा रोजगारको ब्यवस्था  गर्नेछौ, स्वदेशमा  नै गुणस्तरीय शिक्षाको ब्यवस्था गर्नेछौ, स्वदेशमा नै सर्बसुलब स्वास्थ उपचारको ब्यवस्था गर्नेछौ , भ्रस्टाचारलाई  शून्य सहनशीलतामा लानेछौ। हामीले प्राय: जसो सबै पार्टी जसले देशको राजनीतिक  परिवर्तनमा भूमिका खेले, सबैलाई हेर्यौ । पार्टीका  नेताको आशालाग्दा भाषण  सुनेको ३० बर्ष  काटिसक्यो तर  विदेशीने युवाको  संख्या दिनदिनै  बढेको बढ्य छ । शिक्षाको गुणस्तरीयताको प्रश्न उठेको उठ्य छ ।  शिक्षाको लागि युवा विदेशीने संख्या बढेको बढ्यै छ, स्वास्ठ उपचार  दिन प्रतिदिन  महंगो  भएको छ, नेताहरु उपचार गर्न विदेश गएका गऐछन् , भ्रस्टाचार  बढेको बढ्यै छ । भ्रस्टाचार नियन्त्रण गर्न पुगेको ब्यक्ति नै भ्रस्टाचारमा  फसेका छन् । गरीब गुरुवाको अवस्था उस्तै छ। 

    नेताहरुको बाचा, बाचामानै सिमित  छ। बिचरा  जनता अझै उनीहरुको भाषाण सुनेर बसेका बसैछन ।  देशमा प्रजातन्त्र आयो, गणतन्त्र आयो, संविधान आयो, संघियता आयो, स्थानीय निकायका  जनप्रतिनिधि पनि आए  तर नेताहरुले  भनेजस्तो देश रोजगारी सिर्जना भएन। सरकारको नेतृत्व गर्नेहरू बिदेशी सकारसँग श्रम संझौता गर्नमा नै तल्लीन रहे, यसैमा नै गर्व गरेर बसे । कुरा गर्ने एउटा, काम गर्ने अर्को। पढेकाले पनि उनीहरुले क्षमता अनुसारको जागीर नपाउने। जागीरमा पनि भनसुन, पावर, नातावादलाई प्राथमिकता दिने ।  केही गरी  जागीर पाईहाले पनि लठुवाको दबदबा,  हाकिमी शैली, र नेताहरुको ‘एसम्यान’ भएर चल्नु पर्ने । र जागीर बाट पाउने पैसाले अहिलेको महँगी र बढ्दो खर्चलाई धान गाह्रो पर्ने।  त्यसैले  विदेशीने  युवाहरुको संख्या दिनप्रतिदिन बढेको छ।  देशमा नै केही गरौ भने पनि वातावरण राम्रो छैन।  जसको शक्ति उसको भक्ति छ।  दण्डहीनता बढेको बढ्यै छ”। 

    कुरा गर्दै जाँदा साथीले देशको अवस्थाको  बारेमा  अझ  बढी विसंगति र वेथितिको  बारेमा केही  घटनाहरु प्रस्तुत गरे  । “मेरो देश  जहाँ भ्रस्टाचार  विरूद्ध बोल्दा नागरिक अभियन्ता राज्य पक्षको  संरक्षणमा  नै कुटिन्छन। संचारकर्मी जसले देशमा भएका वेथितिलाई उजागर गर्छ, उसलाई सुनियोजीत तबरले फसाउन खोजिन्छ । देशका  विश्वविद्यालयका उच्च  पद र नेतृत्वमा देश, काल, परिस्थिती, र शिक्षालाई बुझेकालाई भन्दा आफ्नो अनुकुलकालाई बनाइन्छ।  विश्वविद्यालयको नेतृत्वमा लगेकालाई पनि हात खुट्टा बाँधेर काम गर्न लगाईन्छ। स्वतन्त्र रुपले काम गर्न दिईदैन। सरकारले दिने पदक, तक्मा र पुरस्कार पनि, कर्मठ, इमान्दार, राम्रो कार्यसम्पादन गर्ने लाई नभई ढोके, चम्चे, परीक्रमे, दलको झण्डेलाई दिन प्राथमिकता राखिन्छ ।  पार्टीको उच्च तहमा बसेका  ब्यक्ति नै  देशको सार्बजनिक जग्गा  आफ्नो नाममा सारेको  विवादमा फ़स्छन  । मेलम्ची खानेपानी योजनालाई यो वा त्यो वहानामा ढिलासुस्ती गरी  कमाइ खाने भाँडो बनाइन्छ । नेपाल ट्रस्टको नाममा रहेका  जग्गा भाडामा  दिदा  कमिशनको  तालमेल नमिलेरे एउटा मन्त्री अध्यक्ष  रहेको अर्को मन्त्रीलाई  अध्यक्ष बनाई, उक्त जग्गा बिना प्रतिस्पर्धा  कौडीको  मूल्यमा भाडामा दिन  खोजिन्छ  ।  निर्मलाका हत्या काण्डका  हत्यारा  र बलात्कारीहरुलाई उम्काइन्छ  र नाटकीय रुपमा निर्दोषलाई अपराधीको रुपमा उभ्याईन्छ ।

    ३८ क्वीन्टल सुनका तस्करी, वाईड बडी  जस्ता भ्रस्टाचार काण्ड, पूर्व  संचारमन्त्री  अडियो काण्डलाई निर्यौलमा  नपुर्याई  बिचैमा नै छोडिन्छ। एनसेललाई  सर्बोच्च अदालत नै लागाएर अरबौको कर छली गर्न दिइन्छ। शक्तिवाला अपराधी लाई जेल छुटाईन्छ। सरकारी सेवासुविधा लिन कार्यालय गयो, यदाकदा बाहेक, ढिलासुस्ती र हाकिमी शैलीले वाक्क र दिक्क भइन्छ। गरिमामय पदका मान्छे अनैतिक काम फसेका छन  । राम्रो कामगरी रहेकाको मन्त्रीको  मन्त्री पद खोसिन्छ। जो मन्त्रीले  काम गर्न सकेको छैन, जनताको बीचमा अलोकप्रिय छ, उसको मन्त्री पद कायम राखिन्छ। कुनैवेला वर्गीय मुद्धाको  चर्का नारा लगाउनेहरुले वर्गलाई जातसंग मात्र जोडि दिएका छन् ।  

    समावेशीको नाममा जो राष्ट्र प्रमुख बने (तराई बासी),  जो रास्ट्रको सुरक्षाको प्रमुख बने (जनजाती) उनीहरुका  छोराछोरीलाई र  त्यही जातका गरीब गुरुवाको लागि एउटै  आधारको समाबेशी , बर्गको होइन जातको, र धनी गरीबको  होइन, जातको समाबेशी । दु:खी गरिब  बाहुन-क्षेत्रीलाई समाबेशी नहुने, कुरा गर्ने वर्गको  जातको राजनीति गर्ने ।  बैतडीका  चन्द जातका मान्छे जातले  राजा भनेर चिनिने तर  विचरा  उनीहरु आफ्ना छोराछोरीको शुल्क तिर्न र हातमुख जोड्नको लागि ८० वर्ष पुग्दा पनि  सकि नसकि भारी भोक्नुपर्ने “?

    साथी र म देशको  विद्यमान परिस्थितिको बारेमा अझै केलाउदै गयौ।  “रास्ट्रिय खेलाडी अन्तरास्ट्रिय खेलमा भाग लिन छोडेर खेल  हुनु भन्दा २ दिन अगाडी आफ्नो परिवारको लालन पालनको लागि  खाडी मुलुक जान बाध्य छन्। महिलालाई अझै अवसर बाट वन्चित गरिएको छ, उनीहरुलाई  “उप” पदहरुमा  मात्र थन्काउने गरिएको छ।  डा. गोविन्द  के सी जस्ता त्यागी, सत्यग्रही ब्यक्तिलाई  आम सर्बसाधारणको स्वास्थको बिषयमा  र  स्वास्थ शिक्षा बिषयलाई लिएर  १७  पटक सम्म आमरण अनन  बस्न बाध्य बनाईन्छ । अझै उनैलाई उल्लु बनाइन्छ। आफ्नो  पार्टीको  सिद्धान्त र चुनावी मुद्धा विपरीत, स्वास्थ र शिक्षालाई ब्यापारीकरण गरिन्छ।   सार्बजनिक सरोकारका कार्यकारणी पदमा नियुक्ति गर्दा पैसा, पावर, नाता (भाई-भतिजा, छोरा-छोरी, साला-साली, बिहान बेलुकी आफ्नो वरिपरी परिक्रम गर्ने, आसेपासे) लाई प्राथमिकतामा राखिन्छ।

    दलहरुले चुनावमा टिकट दिदा तथा समाबेशी कोटाका प्रतिनिधि छनोट गर्दा पार्टीमा गरेको योगदान, बरिष्ठता, भिजनलाई  आधार नबनाई डन, नाताका मान्छे र सेलिब्रेटी लाई टपक्क  टिपेर ल्याइन्छ। जनप्रतिनिधिहरुले पनि, केही अपवाद बाहेक , सेवाग्राहीको काम  सहजरुपले नगर्ने, आफ्नो दलका मान्छेको, आफ्नो गुटका मान्छेको कामलाई प्राथमिकता दिएर काम गर्ने ।  यात्रुहरुले खाना खान सवारी साधन रोकेको होटेलको गुणस्तरहीन खानालाई  ३-४ गुना बढी मुल्य तिर्न बाध्य छन्।  दशैं तिहार जस्ता चाडपर्वमा घर जान गाडी चढ्यो कलंकी चोकैमा डबल भाडा लिन्छन्, प्रहरीलाई खबर गरेमात्रै कारबाही गरे जस्तो गर्छन, तर चोकैबाट डबल भाडा लिदा रोक्न सक्दैनन् ।  जो भ्रस्टाचारका खरो बिरोधी कमर्चारी छन् उनीहरुलाई  बिनाकारण नियम विपरित सरुवा गरीन्छ र आफ्नो अनकुलको  ब्यक्ति ल्याई  भ्रस्टचार गर्ने वातावरण  मिलाईन्छ।  महावीर पुन जस्ता कर्मठ, देश भक्त  वैज्ञानिक जसले देश लागी काम गरे देखाएका छन् उनको आविस्कार केन्द्रलाई राज्यले सहयोग गर्न सक्दैन। नयाँ जोस जाँगर  र सपना लिएर खुलेका नयाँ  दलहरु पनि टुट्ने र फुट्ने मा छन। शिक्षक, कर्मचारीलाई पार्टी कार्यकता जसरी परिचालन गरिन्छ”।

    देशमा  भएका वेथितिको बारेमा भलाकुसारी गर्दै हामी अन्त्यमा निष्कर्ष पुग्यौ । अझै  जनता र पार्टी कार्यकर्ताको बाँकी एउटा उत्तरदायित्व देख्यौं कि जबसम्म  पार्टीका कार्यकताहरु आफ्ना नेताको गलत, अनैतिक  कामको विरूद उत्रिदैनन्, औला  ठड्यादैन्न्, विकासलाई साध्य र राजनीतिलाई माध्यम बनाउन दबाब दिदैनौ,  तबसम्म नेपालको स्थिति सुध्रिदैन। जबसम्म जनताले र कार्यकर्ताले  नेताहरुले  चुनावमा  गरेका बाचा कसमको हिसाब किताब खोज्दैन तबसम्म नेपालको स्थिति नाजुक रहिरहन्छ।

    जबसम्म देशका कार्यकारी पदमा सक्षम ब्यक्तिलाई लगिदैन, राजनीतिक नियुक्तिमा विवेकहीन ब्यक्ति पुग्ने बाटो बन्द हुदैन, तबसम्म नेपालीले दु:ख र सास्ती भोगीरहनु पर्दछ। जबसम्म युवालाई देशमै बसेर काम गर्ने   वातावरण हुदैन तबसम्म युवा विदेशीन बाध्य भैरहन्छन।  जबसम्म सुशासन, सामाजिक न्याय, भ्रस्टाचार न्यूनीकरण, निश्पक्षता कायम हुदैन तबसम्म युवा देश फर्किने र देशमा बस्न मान्दैन। जबसम्म राम्रो कामको लागि समर्थन ( लिम्पियाधुरा, कालापानी, लिपुलेक नक्सा जारी) नराम्रा कामको विरोधमा यो त्यो पाटी नभनी  एकजुट हुदैनौ, हाम्रो अवस्था जुन पार्टीको सरकार आएपनि , जति तिहाइको सरकार आएपनि उस्तै रहने देखिन्छ।

    अब सोचौं, बेलैमा विवेक लगाऔं । किनकि देश बने बल्ल तपाई हामी सबैको भलो र राम्रो हुने हो ।

    ( लेखक अमेरिकाको टेक्सास विश्वविद्यालयमा पीएचडी अध्ययनरत छन् ) ।