कोरना भाइरसको त्रास नभएको भए यतिबेला दशैंको चहलपहल शुरु भै सक्थ्यो , किनकी सोह्र श्राद्धको आगमन भनेको नै दशैं आगवमनको प्रवेशद्वार हो । तर यस पटक न सोह्र श्राद्धको चहलपहल छ नत दशैंको नै होला जस्तो छ । बरु सोह्र श्राद्धको गर्दा भिडभाड हुने भएकोले सरकारले यस पटक भर्चुवल तरिकाबाट श्राद्ध गर्न भनेको छ । यो तरिकाबाट श्राद्ध गर्दा बिधिबिधान नपुग्ने बहससमेत यतीबेला भै रहेको छ । कतिपयले यसलाइ खल्लो श्राद्ध भनिरहेका छन ।
जे होस आउनुहोस सोह्र श्राद्धको महिमा,बिशेषाता र बिधिबारे केही जानकारी लिउ :-
परिचय
चन्द्रमान-अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो। कसैकसैले सोह्र दिनको गणना गर्दा आश्व्वीन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन्। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ । आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्दछन्। एक पक्षमा १५ दिन हुन्छ तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको भन्ने जिज्ञासा उठन सक्छ। खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औंसीसम्म १५ दिन र भाद्र शुक्ल पूणिर्माको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो। कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ।पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन्। केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ।
विधि
यस श्राद्धमा चार जना ब्राह्मण चाहिने भएकोले ब्राह्मणको प्रतीक स्वरूप कुशको ब्राह्मण थापिएको हो पहिले, पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राह्मण अगाडि राखेर पूजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्ध मण्डपमा कुशको ब्राह्मण राखिएको हो। दुवै पट्टी दुई/दुई ब्राह्मणलाई क्रमशः विश्वदेव र पितृब्राहृमण भनिन्छ। अन्य श्राद्धको विधि जस्तै सुरूमा देव-मनुष्य-दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरू हुन्छ। यसपछि प्रत्येक ब्राह्मणलाई निमन्त्रण गरिन्छ ( पहिले पहिले अघिल्लै दिनमा गरिन्थ्यो) ब्राहृमण निमन्त्रणपछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारै जना ब्राहृमणलाई विधिपूर्वक सिधादान गरिन्छ। यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ। प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ। सोह्रश्राद्धमा पितृकुल मातृकुलका तीन- तीन पुस्ता, सासू ससुरा र गुरुसमेतलाई ससम्मान श्रद्धा गरिन्छ।
पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ। श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ।
पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृहरूलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन्। साथै ज्वाइँ, भानिज, नाति नातिना र ब्राहृमण वर्गलाई भोजन गराई दक्षिणा दिन्छन्। हिन्दुधर्ममा नै आस्था राख्ने कुनै जाति विशेषले भने श्राद्धमा पनि रक्सी, मासु चढाउने गरेको पाइन्छ। यो लोकपरम्परा हो।