काठमाडौं ।
ट्राफिक प्रहरीको तंथ्याङ्कमा असोज १ देखि कात्तिक ४ गतेसम्म काठमाडौं उपत्यकाबाट एक लाख ५२ हजार ६३८ सवारी साधन बाहिरिएका छन । एक महिनामा ६ लाख ७० हजार ८१ यात्रुले काठमाडौ छाडे । यही समयमा काठमाडौं उपत्यकामा एक लाख ५३ हजार ६१० सवारी साधनबाट ६ लाख २० हजार ८९ यात्रु भित्रिए ।
विगतका बर्षमा दसँैको समयमा काठमाडौं उपत्यका छाडेर जानेको संख्या ३० लाखको हाराहारीमा हुने अनुमान गरिए पनि यो बर्ष त्यो संख्या ६ लाखमात्रै देखिएको छ । यो बर्ष लकडाउन खुकुलो बनेसँगै असोजको सुरुवातदेखि नै काठमाडौं भित्रिनेको संख्या बढेको देखिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले असोज महिनामा उपत्यका छाड्ने र भित्रिनेको संख्या बराबर जस्तै देखिएको बताउनुभयो । ‘केहीदिनयता भित्रिनेहरुको भन्दा बाहिरीने सवारी साधनको संख्या बढेको छ’ ढकालले भन्नुभयो ।
नवरात्री लागेपछि काठमाडौं उपत्यका छाड्नेको सख्या १५ लाखको हाराहारीमा हुने गरेकोमा यो बर्ष तीन लाख मात्रै देखिएको हो । कोभिडको कारणले धेरै मान्छेले चैतमै उपत्यका छाडेकाले यो संख्यामा कमी भएको हुन सक्ने एसएसपी ढकालले भन्नुभयो ।