खुल्यो पशुपति , पहिलो दिननै भक्तजनको भिड

NepalOm ४ वर्ष अघि
  • omnepalnews.com

    हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर आज पुस १ गते देखी पुनह खुलेको छ ।

    गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा पहिलो दिन बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका थिए । पुसको चिसोमा पनि सयौँ भक्तजन मन्दिर प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । घाम लागेसँगै भक्तजनको चाप क्रमश बढेको थियो ।
    भक्तजनलाई दुई मिटरको दूरीमा लाममा राखी दर्शन गर्ने व्यवस्था मिलाइएको छ । भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ । हाललाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गरी दर्शनपछि पनि सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको छ ।


    दर्शनका लागि पशुपतिनाथ मन्दिर खुला गरिए पनि अझै केही समय भक्तजनले रसिद काटेर गरिने विशेष पूजा गर्न पाउने छैनन् । यसैगरी मूल मन्दिर परिसरमा दैनिक हुने गरेको भजनलगायत गतिविधि पनि क्रमशः खुला गरिने कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । नौ महिनापछि भक्तजनका लागि आजदेखि दर्शन गर्न खुला गरिने भएपछि मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमासहित विशेष पूजा गरेकी थिइन् । कोरोना महामारीबाट मुक्ति, देश एवं विश्व शान्तिको सङ्कल्पसहित मूल मन्दिर, परिसरका देवीदेवताको पनि पूजा आराधना गरिएको थियो ।