काठमाडौं : नेकपाका दुवै पक्षले आज पनि काठमाडौमा छुट्टा–छुट्टै दर्जनौ कार्यक्रमहरुको आयोजना गर्दै छन् । कार्यकर्ता भेला तथा प्रशिक्षणका नाममा आयोजना गरिएका सबै कार्यक्रममा केन्द्रीय नेताहरु सहभागी हुने बताइएको छ ।
प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा हुनेगरी नेपाल प्रज्ञा प्रतिष्ठानमा बृहत् भेलाको आयोजना गरिएको छ । ओली निकट राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीको आयोजनामा भेलाको आयोजना हुन लागेको हो ।
यस्तै, ओली निकट नेकपाको महासचिव तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश स्तरीय कार्यकर्ता भेला आयोजना पनि गरिएको छ । ओली निकट नेकपाको लुम्विनी प्रदेश सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रम दिउँसो साढे १२ बजेपछि होटेल हार्दिक, बागबजारमा हुने भएको छ ।
यसैगरी, गृहमन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यतामा क्षेत्र स्तरीय कार्यकर्ता भेला ड्रिम हाउस जोरपाटीमा आयोजना गरिएको छ । ओली निकट नेकपाको काठमाडौ क्षेत्र नं. ३ ले आयोजना गरेको कार्यक्रम विहान ११ बजेपछि हुने तय भएको छ ।
ओली निकट नेकपाकै काठमाडौ महानगरपालिका १५ वडा कमिटीले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा बृहत कार्यकर्ता भेला आयोजना गरेको छ ।
यता, प्रचण्ड–माधव निकट (नेकपा)ले पनि देशभरी विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको जनाएको छ । यो समूहले जिल्ला कमिटी भक्तपुरले वरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।
ठिमी ब्याङ्केट नयाँ ठिमी भक्तपुर विहान ११ः०० बजेपछि कार्यक्रम हुने आयोजकले जनाएका छन् ।
त्यसैगरी प्रचण्ड–माधव निकट अखिल नेपाल राष्ट्रिय स्वतत्र विद्यार्थी यूनियन केन्द्रीय समितिले प्रतिनिधि सभा विघटनको असंबैधानिक कदमको विरुद्ध सडक बहस कार्यक्रम गर्ने भएको छ । कार्यक्रम नेपाल ल क्याम्पस अगाडी प्रदर्शनी मार्गमा विहान ११ बजेपछि हुने भएको छ ।
प्रचण्ड माधव पक्षकै नेकपा सम्पर्क समन्वय कमिटीले गोल्डेन लाइट पार्टी प्यालेस मित्र पार्क, चावाहिलमा दिउँसो साँढे १२ बजेपछि भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
साथै आज प्रचण्ड–मामव समूहले प्रदेश, पालिका र वडा स्तरमा संघर्ष समिति गठन गर्दै छ ।
संसद विघटन गर्ने ओलीको कमद असंवैधानिक र अधिनायकवादी भएको भन्दै नेकपाको प्रचण्ड–माधव समूहले निरन्तर आन्दोलनमा छ । पहिलो चरणको कार्यक्रम सम्पन्न गरेर अहिले यो समूहले दोस्रो चरणको कार्यक्रम गरिरहेको छ ।
संसद विघटनसँगै अनौपचारिक रुपमा विभाजन भएको नेकपामा पछिल्लो समय विभिन्न कार्यक्रम, बैठक तथा भेलाको आयोजना गर्ने होटबाजी नै चलेको छ । नेता तथा कार्यकतालाई आफूतिर आकर्षित गर्न ओली र प्रचण्ड–माधव समूहबीच प्रतिस्पर्धा देखिएको हो ।