
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई निरकुंशतातर्फ लैजानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गरेको आरोप लगाएका छन् । सरकारका पछिल्ला काम कारबाहीले मुलुकलाई निरकुंशतातर्फ धकेल्ने निहित उद्देश्यका साथ संसद भंग भएको पुष्टी हुँदै गएको पौडेलको भनाइ छ ।
नेपाली कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न लागेको फागुन ३ गतेको प्रदर्शनमा सहभागी हुनका लागि आम नागरिकलाई भिडियोमार्फत अपिल गर्दैै उनेले सामान्य विषय नभएको बताएका छन् । मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशीतालाई रक्षा गर्नका लागि आम लोकतन्त्रवादीहरुले शसक्त ढंगले प्रस्तुत हुनुपर्ने बेला आएको पौडेलले उल्लेख गरेका छन् ।
पौडेलले भिडियो अपिलमा सम्पुर्ण लोकतन्त्रवादी नागरिकलाई नेपाली कांग्रेसले फागुन ३ गते आयोजना गरेको ७७ वटै जिल्लामा हुने विरोधसभामा सहभागी हुन आह्वान गरेका छन् ।