
काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा रहेको ढुंगेधारामा पानी खोलेर उद्घाटन गरेसँगै मेलम्ची खानेपानी वितरणको औपचारिक सुरुवात भएको छ । ६ दिनअघिदेखी नै बिभिन्न स्थानमा मेलम्ची खानेपानी बितरण गरिए पनि औपचारिक रूपमा उद्घाटन सुक्रबार भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले नयाँ वर्षको पूर्वसन्ध्यामा मेलम्चीको खानेपानी काठमाडौंवासीलाई उपहार हुन पुगेको भन्दै मेलम्चीवासीको सामाजिक, आर्थिक उत्थानमा ध्यान पुर्याउनुपर्नेमा जोड दिइन् ।
उनले मेलम्ची खानेपानी आयोजनाका परिकल्पनाकार तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भुल्न नहुने बताइन् । ‘यो खुसी मनाइरहँदा मेलम्ची खानेपानी आयोजनाका परिकल्पनाकारलाई धन्यवाद भन्न चाहन्छु । प्रजातन्त्रको पुनस्र्थापनापछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौंमा ल्याई वितरण गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेपछि आयोजनाले थप महत्व र प्रचार पाएको हो,’ उनले भनिन्, ‘त्यहीबाट देशको नेतृत्व तहलाई आयोजनालाई कार्यान्वयन गर्न प्रेरणा मिलेको हो ।
विश्व स्वास्थ्य संगठन एवं नेपालको राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसारको पानी वितरण प्रणालीमा प्रवाह गरिनेछ । सुन्दरीजलमा प्रशोधित पानी काठमाडौं उपत्यकामा वितरण गर्न थोक वितरण प्रणाली, वितरण सञ्जाल सुधार र नौवटा विभिन्न पानीपोखरीको निर्माण सम्पन्न भएको छ । थप एक पोखरी निर्माणको चरणमा रहेको आयोजनाले जनाएको छ । पानी वितरण सञ्जालअन्तर्गत ११ सय २५ किलोमिटरमध्ये ११ सय किलोमिटर निर्माण सम्पन्न भएको छ । दुई सय किलोमिटरको परीक्षणसमेत भइसकेको छ । यी संरचनामा पानी परीक्षणका लागि मेलम्चीको पानी उपलब्ध भएपछि सहज भएको आयोजनाले बताएको छ ।
१५ हजार धारामा मेलम्चीको पानी
सुन्दरीजलमा उपलब्ध हुने १७ करोड लिटर पानी प्रशोधनका लागि साढे आठ करोड लिटर क्षमताका दुई प्रशोधन केन्द्र छन् । तर, परीक्षण सफल भएसँगै शुक्रबारबाट काठमाडौंको धारामा साढे आठ करोड लिटर पानी वितरण सुरु गरिएको छ ।
बिहीबारदेखि पोखरीमा हालिएको पानी शुक्रबार बिहान ५ बजेदेखि वितरण थालिएकोे थियो । पहिलो चरणअन्तर्गत केयुकेएलले उपलब्ध गराइरहेको एक लाख १० हजार घरधुरीका धारामा नयाँ प्रणालीमार्फत पानी आपूर्ति गर्ने योजना थियो । तर, अहिले ८० हजार घरधुरीमा धारा जडान गरिएको छ । त्यसमध्ये १५ हजार धारामा पानी आपूर्ति सुरु भएको छ । केही महिनाभित्र सम्पूर्ण परीक्षण सम्पन्न गरी नयाँ पाइपलाइनबाट चक्रपथभित्र पानी उपलब्ध हुने आयोजनाले जनाएको छ ।
काठमाडौं उपत्यकामा हाल खानेपानीको दैनिक माग ४३ करोड लिटर छ । तर, केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । अझ, सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसको ४० प्रतिशत चुहावट भएर सात करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ ।