कोरनाको असर :फेरी बन्द भयो पशुपतिनाथ मन्दिर, कहिले खुल्छ छैन निश्चित

नित्य पूजाबाहेक सबै क्रियाकलाप निषेध

NepalOm ४ वर्ष अघि
  • काठमाडौं । पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका मन्दिर आज १० वैशाख शुक्रबारदेखि अनिश्चितकालको लागि बन्द भएका छन् । कोरोनाभाइरस को संक्रमण बढ्न थालेपछि अर्को सूचना जारी नभएसम्मका लागि दर्शन र पूजाआजा गर्न सर्वसाधारणलाई रोक लगाइएको हो।

    नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण बढ्दै जान थालेपछि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार मन्दिर बन्द गरिएको कोषले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ। मन्दिरमा नित्य पूजाबाहेक सबै क्रियाकलाप निषेध गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

    गत वर्ष पनि कोभिड१ ९ संक्रमण रोकथामका लागि बन्दाबन्दी लागू गरिएपछि नौ महीनासम्म पशुपतिनाथ, गुह्येश्वरी लगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएका थिए। ११ चैत २०७६ मा बन्द गरिएको मन्दिरमा दर्शन गर्न १ पुस २०७७ देखि खुला गरिएको थियो।

    मन्दिर बन्द गर्ने निर्णय गरेसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्ड अर्थात् २५ जनाभन्दा बढी उपस्थित नहुन कोषले आह्वान गरेको छ। घाट सेवामा आउने सबैलाई अनिवार्य रूपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन कोषले भनेको छ।