
काठमाडाैं । बिनाशकारी भूकम्पले भत्काएपछि ६ वर्ष लगाएर पुर्ननिर्माण गरिएको ऐतिहासिक धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेका छन् ।
शनिबार धरहराको २० औं तलामा रहेको बालकोनी पुगेर प्रधानमन्त्री ओलीले पुष्पवृष्टि गर्दै पूनर्निमित धरहराको उद्घाटन गरेका हुन् । २०७२ बैशाख १२ गतेको महाभूकम्पले भत्काएको पुरानो धरहरानजिकै बनेको नयाँ धरहराको उचाइ जमिनबाट ८३ दशमल ८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
धरहरा आसपासको पार्क तथा अन्य क्षेत्र समेटिएको बृहत टँुडिखेलको निर्माण कार्य बाँकी रहेपनि धरहराको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धरहरा अन्तिमपल्ट ढलेको र अब उप्रान्त नढल्ने बताए ।
कोभिडको महामारीमा पनि सरकार चुप लागेर नबसेको, विकासका काम अगाडी बढाईरहेको प्रधानमन्त्रीको भनाइ थियो । पुनर्निर्माणका काममा कोभिडले केही असर गरेपनि आवश्यक सर्तकता अपनाउँदै सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिईएको र निरन्तर प्रयासले नै धरहराको पुनर्निर्माण सम्पन्न भएको तर्क गर्नुभयो । ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु आफैं कमजोर हुँदै गएको पनि बताए ।
त्यस्तै राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले धरहरा क्षेत्रको पार्कलाई बिश्वको नमूनाको रुपमा निर्माण हुने बताए । त्यस्तै उनले तीनै तहको सरकार मिलेर पुननिर्माणका कार्यलाई अन्तिम रुप दिने बताए ।
१९९० साल माघ २ गतेको भूकम्प अघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । २०७२ सालको महाभूकम्पले नौ तले धराहरा भत्किएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थान नजिकमा २२ तले धरहरा पुनर्निर्माण गरेको छ ।
बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ । अहिले नयाँ बनेको धरहरा आधुनिक र भुकम्पप्रतिरोधी छ । पुनर्निर्मित धरहरामा सुनको जलप लगाइएको गजुर राखिएको छ । २२ औं तलामा शिवलिंग छ । दुईवटा लिफ्ट रहेको धरहरामा हाललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । धराहरा वरपरको २९ रोपनी क्षेत्रफलमा विस्तारित सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ४८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।