
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै स्वास्थ्य मन्त्रालयले कम्तीमा चार हप्ता लकडाउन गर्न सुझाव दिएको छ ।
नेपालमा पछिल्ला दिनहरूमा कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै स्वास्थ्य मन्त्रालयले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)लाई त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव दिएको हो ।
छिमेकी मुलुक भारतको अवस्थालाई ध्यानमा राख्ने हो भने पनि तत्कालै लकडाउन गर्नु पर्ने स्थिति सिर्जना भईसकेको छ । तर, सरकार तत्कालै सो निर्णय गर्ने पक्षमा देखिएको छैन । बरु स्वास्थ्य मापदण्डमा कडाई गरेर भए पनि लकडाउन भने गरिहाल्ने पक्षमा सरकार छैन ।
लकडाउन गरिहालेको खण्डमा भर्खरै तंग्रिदै गरेको पर्यटन लगायतका थुप्रै क्षेत्रमा प्रत्यक्ष असर गर्नेछ । पहिलो चरणको कोरोना संक्रमण फैलिन थालेपछि लगाइएको लकडाउनको असर अहिलेसम्म कायमै छ ।