संक्रमण फैलिने दरमा नेपाल भियतनामपछि दोस्रो

Nepal Om ४ वर्ष अघि
  • काठमाडाैं । भारतको तुलनामा नेपालमा कोभिड–१९ को लहर बढी खतरनाक देखिएको छ । यहाँ भारतभन्दा बढी अनुपातमा कोभिड पोजिटिभ देखिएसँगै दैनिक मृत्युको संख्यासमेत तुलनात्मक रूपमा धेरै छ ।
    एक साताअघि नेपालमा संक्रमण दर विश्वमै धेरै थियो । अहिले भने संक्रमण फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा छ । हाल भियतनाममा संक्रमण फैलिने दर २.४ छ भने नेपालमा १.६ छ । अर्थात्, नेपालमा १० जना संक्रमितले १६ जनालाई रोग सार्छन् भने भियतनाममा १० संक्रमितले २४ जनालाई रोग सारिरहेका छन् ।

    कोभिड सार्ने दरको हिसाबले भारत विश्वमा ३६ औं स्थानमा रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका महामारीविद् डा. अर्चना श्रेष्ठले बताइन् । नेपालमा कोभिड पोजिटिभिटी दर ४५ प्रतिशत देखिनु ‘डिजास्टर’ अवस्था रहेको उनको भनाइ छ ।

    भारतको दाँजोमा तुलनात्मक रूपमा नेपालमा दैनिक संक्रमितको संख्यासमेत उल्लेख्य रूपमा बढी छ । यो साता ५१ प्रतिशतले संक्रमितको संख्यामा वृद्घि देखिएको छ, जुन विश्वमै संक्रमण दरको हिसाबले दोस्रो हो । ‘जनसंख्याको हिसाबले भारतसँग तुलना गर्दा हामीकहाँ बढी जटिल अवस्था देखिएको छ,’ डा. श्रेष्ठले भनिन्, ‘दैनिक नयाँ कोभिड संक्रमितको संख्या प्रति १० लाख जनसंख्यामा भारतमा २४० छ भने नेपालमा ३०४ ।’

    यस्तै, दैनिक कोभिडले हुने मृत्युको संख्या प्रति १० लाख जनसंख्यामा नेपालमा ३.३ छ भने भारतमा २.५ छ ।साभार कान्तिपुर दैनिक