nepalom.com
काठमाडौं । कोरना संक्रमणले बिश्वलाई आक्रान्त बनाएको यो समयमा योग र ध्यानको नयाँ कोणबाट चर्चा सुरुभएको छ ।मेडिकलले ठिक बनाउन नसकेका कुराहरु योग र ध्यानले ठिक बनाउन सक्छ भन्ने कुरामा आज एकमत जस्तै देखिसकेको छ ।आज विश्वले योगको महत्व बुझ्न थालेको छ । योगलाई शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिन्छ । आज यो योगाको नामले विश्वभर फैलिएको छ र थुप्रैले यसबाट लाभ लिइरहेका छन् ।
के हुन्छ योग ध्यान गर्दा ?
–शारीरिक एवं मानसिक स्वास्थ्यलाभ
–कार्यक्षमता वृद्धि
–चिन्ताबाट छुटकारा
–रोग प्रतिरोधी क्षमतामा वृद्धि
–तन, मन र आत्मा बीचको लयात्मकता
–अनावश्यक विचारबाट मुक्ति
–सकारात्मक सोचको विकास
–ऊर्जाको केन्द्रीकरणबाट आन्तरिक शक्ति सञ्चार
–आत्मज्ञान प्राप्ति
योगका आदिगुरु भगवान् शिवलाई मानिन्छ । योगका छरिएर रहेका आयामहरूलाई संकलित गरी प्रस्तुत गर्ने महर्षि पतञ्जलिले ‘योगसूत्र’ भन्ने पुस्तकमा भनेका छन् – योगश्चित्तवृत्ति निरोधः । अर्थात् चित्त वृत्तिको निरोध नै योग हो ।
यसबाट के बुझिन्छ भने योगको उद्देश्य चित्त वृत्तिहरूको निरोध हो । अर्थात् चित्त र वृत्तिलाई ठीक बाटोमा डो¥याउनु नै योग हो ।
योगले प्राकृतिक तरिकाले जीवन व्यतीत गर्न सहयोग गर्छ । आज संसारभर लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग, भक्तियोग आदि अनेक रूपमा हिन्दू, बौद्ध एवं जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो– जोड्नु ।
योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसँग सम्बन्धित गर्नसक्छ । शारीरिक एवं मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य आदि अनेकौं पक्षसँग यसको सम्बन्ध हुन्छ । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगका रूपमा बुझिन्छ । वास्तवमा योगको उद्देश्य भनौं वा अर्थ जीवात्मालाई परमात्मासँग जोड्नसक्ने बनाउनु हो । यसरी जीवात्मा र परमात्मालाई जोड्ने क्रिया नै वास्तविक अर्थमा योग हो ।
यौगिक क्रियाको सर्वप्रथम वैज्ञानिक व्याख्या गर्ने व्यक्ति पतञ्जलि हुन् । उनको ग्रन्थ ‘योगसूत्र’ अहिले संसारका सबैजसो भाषामा अनुवाद भइसकेको छ । यस ग्रन्थकोे पहिलो व्याख्या व्यास र वाचस्पति मिश्रबाट भयो भने पछि धेरैले यसको व्याख्या गरे ।
योगसूत्रलाई योग र ध्यानको आधार मानिन्छ । विश्वका प्रथम योगी शिवले गरेको ध्यानको मूर्ति सबभन्दा प्राचीन मूर्ति हो । महावीर जैनको पनि ध्यानका मूर्ति पाइन्छन् । भगवान् बुद्धको ध्यान मूर्ति विश्वप्रसिद्ध नै छ । यद्यपि योगशास्त्र भने भगवान् कृष्णको योगदान हो र उनलाई योगेश्वर भनिन्छ । उनको उपदेश गीतालाई योगशास्त्र भनिन्छ । योगसूत्रमा बताइएका अधिकांश कुरा गीतामा पनि छन् ।