उपत्यकाकाे निषेधाज्ञा १० दिन थपियो

Nepal Om ४ वर्ष अघि

  • काठमाडौं । उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले केही खुकुलाे गर्दै १० दिन थप गर्ने निर्णय गरेको हो ।

    पछिल्लो समय थप गरिएको जेठ १४ गतेदेखि २० गतेसम्मको निषेधाज्ञामा किराना पसलहरु पनि बन्द गरिएको थियो । अब भने किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।

    त्यस्तै तरकारी, फलफूल, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु र डिपार्टमेन्टल स्टोर पनि बिहान ९ बजेसम्म खोल्न पाइने छ । त्यस्तै निर्माण कार्यका लागि ढुवानी हुने सवारी साधनलाई राती सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । यस अघि तरकारी पसल मात्र खोल्न पाइने व्यवस्था गरिएको थियो ।

    बैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि कुटनैतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रकृयामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने निर्णय भएको पराजुलीले बताए । निषेधाज्ञामा अन्य क्षेत्र भने यसअघिकै व्यवस्था अनुसार नै बन्द रहने उहाले जानकारी दिए । उपत्यका लगाइको निषेधाज्ञाकै कारण कोरोना संक्रमित घटेको भन्दै उनले निषेधाज्ञालाई पूर्ण रुपमा कार्यान्वयन गराइने धारणा राखे ।

    प्रमुख जिल्ला अधिकारी पराजुलीले आदेशको अवज्ञा गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०५८ अनुसार कारवाही हुने बताए ।