
काठमाडाैं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नभेटिएको बताएको छ । बेलायती अखबार डेली मेेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि डब्लूएचओले उक्त कुरा स्पष्ट पारेको हो ।
बेलायती अखबार डेली मेलले बिहीबारको संस्करणमा ‘नेपाल भेरियन्ट थ्रेट टु आवर होलिडेज’भन्दै कभरमै समाचार प्रकाशित गरेको थियो ।डेली मेलले पोर्चुगलमा नेपाल भेरियन्ट भेटिएको र त्यसै कारण बेलायती सरकारले पोर्चुगललाई ग्रीन जोनबाट हटाउन सक्ने कुरा समाचारमा उल्लेख गरेको छ ।
तर डब्लूएचओले भने नेपालमा नयाँ स्वरूपमा कोरोना भाइरस फैलिएको बारे कुनै जानकारी नभएको जनाएको छ । डब्लुएचओ नेपाल कार्यालयले सामाजिक सञ्जालमा लेखेको छ, ‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) मात्रै हो ।’