
हेटाैंडा । चौतर्फी आलोचना हुन थालेपछि नेपाली कांग्रेस वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा आत्मलोचनासहित माफी मागेका छन् ।पार्टीको निर्देशनअनुसार उनले आजको प्रदेशसभा बैठकमा आत्मालोचना गरेका हुन् ।वैद्यले सदनमा आफ्नो भनाइलाई स्पष्ट पार्न समय उपलब्ध गराइदिन सभामुख सानुकुमार श्रेष्ठलाई आग्रह गरेका थिए ।
शुक्रबारको नीति तथा कार्यक्रमको छलफलमा आफ्नो धारणा राख्ने क्रममा सांसद वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।
संसद्को रोस्ट्रममा उभिएर प्रतिक्रिया दिने क्रममा उनले भने ,प्रधानमन्त्रीप्रति लक्षित गर्दै मबाट प्रयोग भएको शब्दहरु आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेअनुसार आफ्नो भनाई फिर्ता लिन्छु ।’
‘हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरु राजनीतिक दलहरुलाई समेत लोकतान्त्रिक अभ्यासमा प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीको नाताले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्दछु,’ उनले भने ।